कैलाली। सुदूरपश्चिम प्रदेशबाट यस पटकको निर्वाचनमा धेरैले निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराए। परम्परागत राजिनितीक दल देखी स्वतन्त्र उम्मेदवार भएर साँसद बन्न उनीहरु आम निर्वाचनमा होमिए पनी। निवार्चन सम्पन्न भएर पनी उम्मेदवारको अन्तिम मतपरिणाम सार्बजनिक भैसकेको छ।
तर सुदूरपश्चिम प्रदेश सभातर्फ उम्मदवार बनेकाहरु धेरैले १०० मत पनि पाउन सकेनन् । आफ्नो जित सुनिश्चित हुने भन्दै प्रदेश सभा निर्वाचनमा होमिएका सुदूरपश्चिम प्रदेशका २५ जना उम्मेदवारले १०० मत पनि कटाउन सकेनन्। ३२ निर्वाचन क्षेत्र रहेको प्रदेशमा सबैभन्दा बढी कैलालीका एक दर्जन बढी उम्मेदवारले १०० मत पाउन नसकेका हुन् । १०० मत पाउन नसकेका कैलालीका १७ जना, कञ्चनपुरका ५, डडेल्धुरा, बझाङ र दार्चुलाका एक/एक जना उम्मेदवारले १०० मत पाएनन् । उनीहरु अधिकांस पार्टीका र केही स्वतन्त्र उम्मेदवार हुन्।
सय मत पनि नकटाउनेमा सबै भन्दा धेरै नेपाल मजदुर किसान पार्टीका उम्मेदवार छन्। उनीहरुमध्ये सबैभन्दा कम कैलाली १ को प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवार रहेका चक्र बहादुर चौधरीले १३ मत पाए । २८ हजार २०६ मत सदर हुँदा चौधरीले १३ मत पाएका हुन् । कञ्चनपुर प्रतिनिधि सभा ३ (१) मा स्वतन्त्र उम्मेदवारी दिएका महादेव भट्टले १५ मत पाए। २५ हजार ६९९ मत सदर हुँदा भट्टले त्यसको ०.०५ प्रतिशत मत पाएका थिए । कैलाली १(१) मा स्वतन्त्र उम्मेदवार छोटेलाल चौधरीले २४ मत पाएका थिए । ३३ हजार ३७२ मत सदर हुँदा उनले त्यसको ०.०७ प्रतिशत मत पाए । कैलाली ३(१) मा नेपाल मजदुर किसान पार्टीकी रञ्जना कुमारी सिंहले ३२ हजार ३०९ मतमा ३३ मत मात्रै प्राप्त गरिन् । उनले कुल मतको ०.१० प्रतिशत मत पाएकी हुन् । त्यस्तै, कञ्चनपुर १(१) मा नेपाल मजदुर पार्टीकी भागीरथी देवी रावल ७६ मत पाइन् ।
कञ्चनपुरकै १(२)मा नेपाल मजदुर किसान पार्टीका हर्क बहादुर क्षेत्रीले ७९ मत पाए । नेमकिपाकै कञ्चनपुर २(१)मा भरत बहादुर रावलले ८३ मत पाउँदा यही पार्टीका उम्मेदवार सुरेन्द्र दमाइले कञ्चनपुर ३(१)मा ९० मत पाए। कैलाली १(१)मा नेमकिपाकी बिष्णा कुमारी थापामगरले ६५ मत प्राप्त गर्दा यही क्षेत्रमा नेपालका लागि नेपाली पार्टीका उम्मेदवार चन्द्र सिंह बोहराले ६६ मत प्राप्त गरेका थिए । कैलाली १(२) मा नेमकिपाका गगन बहादुर थापा मगरले ५४ मत प्राप्त गर्दा यहि क्षेत्रमा नेपालका लागि नेपाली पार्टीका वीर बहादुर शाहीले ६५ मत प्राप्त गरे । कैलाली २(१) मा मङ्गोल नेशनल अर्गनाइजेशनका तेजबहादुर घर्तीले ७३ मत प्राप्त गर्दा २(२) मा नेमकिपाका दीपा बिष्टले ३९ मत पाइन् । यही क्षेत्रमा लोसपा नेपालका तेज प्रकाश बडायकले ३९ मत पाए भने नेकपा माओवादी समाजवादीका जङ्गबहादुर देउवाले ८० मत प्राप्त गरे ।
कैलाली ३(२) मा नेमकिपाका खगेन्द्र बहादुर शाहीले ६८ मत प्राप्त गरे भने कैलालीको ४(१) मा स्वतन्त्र उम्मेदवार भोजराज सापकोटाले ५६ मत पाए । यहाँ ५४ मत नेश्लिष्ट पिपल्स पार्टीका लाल बहादुर बोहराले पाएका थिए । यही क्षेत्रमा स्वतन्त्र उम्मेदवार प्रेम बहादुर शाहले ६५ मत पाए । कैलाली ५(२) मा नेमकिपाका राम बहादुर दर्लामी मगरले ३५ मत प्राप्त गरेका थिए । डडेल्धुरा १(२) मा जसपा नेपालका नरभान पार्कीले ९०, दार्चुला (१) मा संघीय लोकतान्त्रिक मञ्च नेपालका नन्दी कामीले ८५ मत र बझाङ(२) मा स्वतन्त्र उम्मेदवार गणेश बहादुर भण्डारीले ५९ मत पाएका थिए। यस्तै प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा सुदूरपश्चिम प्रदेश सभातर्फ १ सय ११ जना उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको दश प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था अनुरुप उनीहरुको जमानत जफत भएको हो । सुदूरपश्चिम प्रदेश सभा सदस्यतर्फ ३२ सिटका लागि भएको चुनावमा ८२ जना उम्मेदवार जमानत जफत हुनबाट जोगिएका छन् । सुदूरपश्चिम प्रदेशमा लोकतान्त्रिक बाम–गठबन्धन, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टीका साथै स्वतन्त्र उम्मेदवारले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।