बैतडी। बैतडीमा गाउँपालिका अध्यक्षलाई पार्टीबाट निष्काशन गर्न नेकपा एमालेले सिफारिस गरेको छ। नेकपा एमालेको बैतडी जिल्ला कमिटीले पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्न सिफारिस गरेको हो।
मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै जिल्ला कमिटीको बुधबार बसेको बैठकले पार्टीबाट निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको हो।प्रदेशसभा सदस्य तथा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालले चन्दलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्न प्रदेश कमिटिलाई सिफारिस गरिएको जानकारी दिए । एमालेका प्रदेश कमिटी सचिवालय सदस्य रहेका चन्दलाई पालिका अध्यक्षबाट समेत पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गर्न प्रदेश कमिटीलाई आग्रह गरिएको पालले बताए ।
चन्द ३० वशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। ४ मंसिरमा सम्पन्न भएको निर्वाचनबाट प्रतिनिधिसभामा एमालेका प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी र प्रदेशसभा ९१० मा जिल्ला अध्यक्ष विजयी भएका थिए तर उनको क्षेत्रमा पर्ने प्रदेशसभा ९२० का उम्मेदवार लिलाधर भट्ट भने झिनो मतान्तरले पराजित भएका थिए । भट्ट पराजित हुनुमा चन्दको असहयोग प्रमुख कारण रहेको एमालेको जिल्ला कमिटीले निश्कर्ष निकालेको छ ।