कैलाली। कैलालीमा सालाको हत्या गर्ने भिनाजुले आत्मसमर्पण गरेका छन्। कैलालीमा हँसिया प्रहार गरेर सालाको हत्या गर्ने ५० वर्षीया गौरीलाल ढुङगानाले प्रहरीमा आत्मसमर्पण गरेको जनाइएको छ। कैलालीको जोशीपुर गाउँपालिका-६ का ढुङ्गाना आफै इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
उनी सम्पर्कमा आएपछि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले ढुङगानाले मंगलबार जोशीपुर गाउँपालिका ६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहार गरेर हत्या गरेको बताए। उनको हँसिया प्रहारबाट सोही ठाउँका ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन्। उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। मृतक भण्डारी हालै भारतबाट नेपाल आएका थिए। उनले नेपाल आएपछि भिनाजुले आफ्नो दिदीलाई दुःख दिने गरेको कुरा थाहा पाए। त्यसपछि उनले भिनाजु हत्या आरोपित ढुङ्गानालाई सम्झाउन खोजे। तर, उनले उल्टै मलाई सम्झाउने को हो तिमी ? भनेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ। तपाईंले दिदीलाई दुःख दिनुहुन्छ, भन्दै विवाद भएको देखिएको डिएसपी जोशीले बताए। ती दुईकाबीच यसअघि पनि मुद्दा, मामिला परेको र झगडाले उग्र रुप लिएपछि भिनाजुले हसिया प्रहार गरेको जनाइएको छ।घटनाका बारेमा थप अनुसन्धान भैरहेको कैलली प्रहरीले बताएको छ ।