दार्चुला। नेपाल–भारत सीमा समन्वय बैठकमा नेपालतर्फ मोडिएको महाकाली आफ्नै धारमा फर्काइने र विवादित क्षेत्रको काम शुरु नगर्ने सहमति बनेको छ। बुधबार भारतको धारचुलामा बसेको समन्वय बैठकमा भारतले एकतर्फी महाकाली नदीमा निर्माण गरिरहेको पक्की तटबन्धबारे विवाद भएपछि दुई देशका सुरक्षा अधिकारीहरूबीचको समन्वयात्मक बैठक बसेको थियो।
भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर तटबन्ध (बाँध) बाधेको थियो । तटबन्धका कारण नेपालतर्फ मोडिएको नदी पुनः आफ्नै धारमा फर्काइने भएको छ। विवादित क्षेत्रमा तत्काल काम पनि शुरु नगर्ने सहमति बनेको हो। भारतीय पक्षले एकतर्फी तटबन्ध निर्माण गरेपछि भएको विवाद समाधानका लागि नेपाल र भारतीय प्रशासनबीच भएको छलफलमा १० दिनभित्र नदीलाई बीचमा पार्ने सहमति भएको हो। दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले छलफलमा नेपालीको मागअनुसार नदीको बीचमा रहेका अस्थायी संरचना हटाउन १० दिनको समय दिइएको जानकारी दिए।
नेपालतर्फ सोझिएको नदीको धार बीचमा पार्ने, अत्यावश्यक बाहेकका अस्थायी डाइभर्सन, संरचना तत्काल हटाउने, यसका लागि भारतीय जनशक्ति नै परिचालन गर्ने सहमति बनेको उनले बताए । तोकिएको समय १० दिनमा सहमतिअनुसार काम गरे नगरेको अवस्था हेरी पुनः भारतीय प्रशासनसँग छलफल गरिने छ। नेपालसँग विनाछलफल एकतर्फी रूपमा निर्माण गरिरहेको भारतीय पक्ष चौतर्फी दबाबपछि वार्तामा बस्न सहमत भएको थियो। नेपाल सरकारले कूटनीतिक नोट पठाएपछि भारतीय अधिकारीले हिजो महाकाली नदी क्षेत्रमा भइरहेको तटबन्ध निर्माणको कामको अनुगमन पनि गरेका थिए। आइतवार दार्चुलाको खलंगाका स्थानीय बासिन्दा प्रतिरोधमा उत्रिँदा भारतीय नागरिकले ढुंगामुढा गर्दा बालकसहित चार नेपाली घाइते भएका थिए। यस्तै बैठकमा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी उपाध्याय, सुरक्षा निकायका प्रमुख, महाकाली नदी नियन्त्रण आयोजनाका प्रतिनिधि करनसिंह धामी र भारतका तर्फबाट पिथौरागढ जिल्लाका प्रमुख रीना जोशी, तहशिल धारचुलाका उपजिल्ला अधिकारी दिवेश शासनी लगायतको उपस्थिति रहेको थियो ।