काठमाडौँ। नेपाल प्रहरीका उच्च अधिकारीहरूले सर्वोच्च अदालतमा तैनाथ प्रहरीहरूलाई सर्वोच्च प्रशासनको आदेशबिना निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रवेश गर्न नदिन आदेश दिएका छन् । संसद् सचिवालयका महासचिव भरतराज पौडेलले जबरामाथिको महाभियोग प्रस्ताव निस्प्रभावी भएको पत्र पठाएपछि निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा हाजिर हुन जाने तयारी गरेका छन्।
तर यसअघि नै नेपाल बार एसोसिएसनले सर्वोच्चमा धर्ना गरिरहेको छ। यसैबीच, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जबरामाथिको महाभियोग जीवीत नै रहेको प्रतिक्रिया दिएका छन्। गत फागुन १ गते ९८ जना सांसदहरूले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए। तर मंसिर ४ गतेको निर्वाचनका कारण महाभियोग प्रक्रिया प्रभावित बनेको थियो। यस्तै सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलगायतले दर्ता गराएको रिटको पेसी शुक्रबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
महासचिव गौतमले बुधबार बिहान जबराको निलम्बन फुकुवाको पत्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, न्यायपरिषद्, संवैधानिक परिषद्, प्रधानन्यायाधीशको कार्यालयमा पठाएका थिए । उक्त पत्र संविधान र कानुनविपरीत भएको भन्दै सर्वोच्च अदालत बार एशोसिएसनले बुधबार रिट दायर गरेको हो । रिटमा संसद् सचिवालयका महासचिव गौतमको पत्र असंवैधानिक भएको दाबी गरिएको छ ।बिहीबार सार्वजनिक बिदा परेकाले शुक्रबारका लागि पेसी तोकिएको हो ।रिटमा अन्तरिम आदेशमार्फत महासचिव गौतमको पत्र कार्यान्वयन नगर्न माग गरिएको छ ।