कञ्चनपुर। कञ्चनपुरको वेदकोटमा पशुचौपाया गाडिएको अवस्थामा फेला परेका छन्। वेदकोट नगरपालिका–३ को चोरपानी नजिकै खाडलमा गाडेको अवस्थामा करीब आधा दर्जन पशु चौपाया स्थानीयले डोजरको प्रयोग गरेर निकालेका हुन्। कञ्चनपुरको वेदकोट नगरपालिकामा व्यवस्थापनको माग गर्दै स्थानीय महिलाहरु आन्दोलित भएका बेला केही पशुचौपाया खाडलमा गाडिएको अवस्थामा भेटिएका हुन्।
तर ती गाई गोरु खाडल गाडेर कसले गाडेको हो भन्ने कुरा खुलेको छैन । स्थानीयले भने नगरपालिका कार्यालयले हत्या गरेर रातारात पशुचौपाया गाडेको आरोप लगाएका छन् । व्यवस्थापनको माग गर्दै स्थानीयले आइतबार र सोमबार नगरपालिका कार्यालयमा ल्याएर पशुचौपाया थुनेपछि राति ट्रकमा वडा नम्बर ६ को मुसेपानीमा स्थापना गरिएको गौशालामा लगेर राखिएको मेयर भोजराज बोहराले बताए । उनले सोमबार राति १५३ पशुचौपायालाई गौशालामा पुर्याइएको बताउदै खाडलमा गाडिएको अवस्थामा भेटिएको बारेमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए।
तर मंगलबार बिहान गौशालामा राखिएका १५३ र यसअघि व्यवस्थापन गरिएका करीब अढाई सय गाईगोरु समेतलाई अज्ञात समूहले गौशालाबाट निकालिदिएपछि समस्या भएको उनको दाबी छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले गाईगोरु खाडलमा गाडिएको अवस्थामा भेटिएको सामाजिक सञ्जालबाट थाहा पाएको बताए । तर कानूनी कारवाहीका लागि कुनै व्यक्ति वा पक्ष जिल्ला प्रहरी कार्यालयसम्म नपुगेको बताए । यता केही स्थानीयले नगरपालिकाले हत्या गरेको आरोप लगाएका छन् । स्थानीय एवं नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरि सुवेदीले नगरपालिकाले दिर्घकालिन रुपमा समस्या समाधान गर्न नसक्दा खाल्डोमा गाडेको आरोप लगाएका छन् ।