डडेलधुरा। निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा भएको खर्च विवरण बुझाएका छन्। देउवाले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।डडेलधुराका निर्वाचन अधिकृत करुणाकर अवस्थीका अनुसार आज देउवाले आफ्नो चुनावी खर्चको विवरण प्रतिनिधिमार्फत बुझाएका हुन् ।
देउवाले निर्वाचनमा २६ लाख १२ हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेका हुन्। प्रचार सामग्री छपाइ, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायतका सात शीर्षकमा २६ लाख १२ हजार खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको हो । मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवारहरू निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् । निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै उमेदवारले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय डडेलधुरामा बुझाउन थालेका हुन् ।
एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभामा आठ र दुईवटा प्रदेशसभामा १२ गरी २० जना उमेदवार रहेका थिए । उनीहरुमध्ये १४ जनाले निर्वाचन खर्च बुझाइसकेको अवस्थीले जानकारी दिए। उनका अनुसार नेपाली कांग्रेस बीपीका उमेदवार कर्णबहादुर मल्लले १३ लाख आठ हजार, स्वतन्त्र उमेदवार कर्णबहादुर रावलले एक लाख १६ हजार, विक्रमबहादुर शाहीले दुई लाख दुई हजार १९० र राप्रपा उमेदवार गोविन्द खडायतले चार लाख ४० हजार खर्च भएको भन्दै विवरण बुझाएका छन् । अवस्थीका अनुसार डडेलधुरामा प्रतिनिधिसभातर्फ ३१ लाख, प्रदेश १ को लागि २१ लाख र प्रदेशसभा (२) को लागि १९ लाख खर्चको सीमा तोकिएको थियो ।