काठमाडौं। प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले समानुपातिकतर्फको पनि मतगणना सकिएको बताए। “मत गणना सम्पन्न भएको आयोगको वेबसाइटमा राखिएको मत नै फाइनल मत परिणाम भएको उनले भने । आयोगका अनुसार कुल एक करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ। जसमा सबैभन्दा धेरै नेकपा एमालेले पाएको छ।
उनले २८ लाख ४५ हजार ६४१ मत पाएको आयोगले जनाएको छ। दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत पाएको छ। चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ। जनता समाजवादी पार्टी नेपालले चार लाख २१ हजार ३१३ मत प्राप्त गरेको छ । जनमत पार्टीले तीन लाख ९४ हजार ५६६ मत पाएको छ । त्यस्तै, नेकपा एकीकृत समाजवादीले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ। नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२ मत पाएको छ। लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख ६७ हजार ३६७ मत प्राप्त गरेको छ । बाँकी दलले एकलाख भन्दा कम मत पाएका छन् ।