दार्चुला। भारतले एकलौटी रुपमा महाकालीमा बनाइरहेको संरचना निर्माणको काम तत्कालको लागि रोकेको छ। भारतले एकलौटी रूपमा महाकालीको धार परिवर्तन हुने गरी बनाएको संरचनाको काम नेपाली पक्षको तीव्र दबाबपछि पछी हटेको हो। तत्कालको लागि नदीको बहाव नेपालतर्फ धकेलेर भारतले बनाइरहेको पक्की संरचना निर्माणको काम रोकिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलामा दुवै देशका अधिकारीहरूको छलफलमा भारतीय पक्षले हाललाई उक्त काम रोक्न तयार भएको जनाएको हो ।सोमबार भारत पिथौरागढ प्रशासनका एडीएमसहितका प्रतिनिधि र दार्चुलाका प्रमुख जिल्ला अधिकारीले त्यसबारे छलफल गरेका थिए । छलफलमा दुई देशका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएरमात्रै काम अघि बढाउने सहमति भएको बताइएको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा पिथौरागढका एडीएमसहितका अधिकारीहरू आएको दार्चुलाका डीएसपी तर्कराज पाण्डेयले बताए ।
त्यो बैठकमा संयन्त्र बनाएरमात्रै काम अघि बढाउने सहमति भएको उनले जानकारी दिएका छन्। प्राविधिक, स्थानीय राजनीतिक दल र प्रशासनका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएर त्यसका आधारमा निर्माण गर्ने सहमति भएको उनको भनाई छ । आइतबार भारतीय पक्षले नदीको बहाव नेपालतर्फ सारेर तटबन्ध बनाउन थालेपछि नेपाली पक्षले त्यसको प्रतिकार गरेका थिए । ढुङ्गा हानाहान हुँदा ४ जना बालक घाइते भएका थिए । स्थानीयले झोलुङ्गे पुलको गेटमा तालाबन्दी गरेर आवतजावत बन्द गरेका थिए ।सहमतिसँगै स्थानीय प्रशासनले पुलको गेट खुलाएको छ। यसअघि पनि पटकपटक भारतीय पक्षबाट महाकाली बहाव नेपालतर्फ धकेल्ने काम हुँदा स्थानीयले विरोध गर्दै आएका थिए।