धनगढी। सुदूरपश्चिम प्रदेशमा निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। मत परिणाम सार्वजनिक भएसँगै सांसद को बन्ने भन्ने चर्चा सुरु भएको छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्षबाट ३२ र समानुपातिकबाट २१ सदस्य छानिन्छन्। जसमध्ये १७ जना महिला सदस्य हुन्छन्। प्रत्यक्षमा एकजना पनि महिला निर्वाचित भएका छैनन्।
अब १७ जना महिला समानुपातिक मार्फत प्रवेश गर्ने छन्।प्रदेश सभाका कुल सदस्यमध्ये ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार समानुपातिक प्रणालीबाट अधिकांश महिला चुनिने भएका हुन् । प्रत्यक्ष तर्फको सुदूरपश्चिम प्रदेशको अन्तिम परिणाम सार्वजनिक अनुसार कांग्रेस १२, माओवादी केन्द्र ८, नागरिक उन्मुक्ति पार्टीले ५, एमाले र नेकपा एसले समान ३/३ क्षेत्रमा जितेको छ । समानुपातिकबाट कांग्रेस र एमालेले ७ –७, माओवादीले ३, नागरिक उन्मुक्तिले २ तथा एकीकृत समाजवादी र राप्रपाले १–१ सिट पाउने छन्।कुन दलबाट को-को सांसद ?
कांग्रेसबाट- नेपाली कांग्रेसले ७ जना सांसद पाउनेछ । कांग्रेसले खस आर्यबाट ४ जना, दलितबाट एक जना, थारुबाट एक जना र पिछडिएको क्षेत्रबाट १ जनालाई छनोट गर्ने छ ।निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीको आधारमा खस आर्यबाट मधु भारती, सरस्वती खड्का, जुना कुमारी दानी र डम्मरा महरा पर्ने छन् । दलितबाट ललिता सुनार र थारुबाट गीता कुमारी चौधरीको सम्भावना अधिक रहेको छ । त्यस्तै पिछडिएको क्षेत्रबाट धनबहादुर बुढा पर्ने छन् ।
एमालेबाट- एमालेले पनि खस आर्यबाट ४ जना, दलितबाट एक जना, थारुबाट एक जना र पिछडिएको क्षेत्रबाट १ जनालाई छनोट गर्ने छ । त्यसमा अनिवार्य ३ जना महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । खस आर्यबाट अग्र पङ्क्तिमा रहेका सन्तोष शर्मा थापा, जानकी बम ,राजेन्द्र रावल र धर्म पाठकको सम्भावना बढी रहेको छ । दलित कोटाबाट राधिका भुजेल र हिरा सार्कीमध्ये एकजना पर्दा पिछडिएको क्षेत्रबाट भरत साउद र निर्मला साउदमध्ये एकजना तथा थारु कोटाबाट कुलवीर चौधरी र कोइली चौधरीमध्ये एक जना सांसद हुने छन् ।
माओवादी केन्द्रबाट- प्रत्यक्षतर्फ ८ क्षेत्र जितेको माओवादी केन्द्रले समानुपातिक तर्फ ३ जना सांसद पाउनेछन् । माओवादी केन्द्रबाट तीनैजना महिला सांसद हुने छन् । खस आर्यबाट गीता देवी माल र जनकीदेवी कुवर तथा दलितबाट लक्ष्मी बिक सांसद बन्ने प्रबल सम्भावना छ ।
नागरिक उन्मुक्तिबाट- प्रत्यक्षतर्फ ५ क्षेत्रमा विजयी भएको यो पार्टीले समानुपातिक तर्फ २ जना खस आर्यकै महिला सांसद बनाउनु पर्ने छ । यहाँबाट टिका थापा र इन्दिरा गिरीको सम्भावना अधिक छ ।
नेकपा एसबाट- प्रत्यक्ष तर्फ ३ क्षेत्र जितेको नेकपा एकीकृत समाजवादीले समानुपातिक तर्फ १ जना सांसद पाउने छ । खस आर्यबाट महिला कोटामा माया पन्त सांसद बन्ने सम्भावना छ । राप्रपाबाट राप्रपाले यहाँ प्रत्यक्षतर्फ कुनै क्षेत्र जित्न सकेन । तर, समानुपातिक मत सङ्ख्याका करण एक सांसद हुने छन् । यस पार्टीबाट खस आर्य कोटाबाट पूर्णबहादुर चन्दको प्रवल सम्भावना छ ।