धनगढी। सुदुरपश्चिम प्रदेशको निर्वाचन मतपरिणाम सार्वजनिक भएसँगै प्रदेशका मुख्यमन्त्रीका आकांक्षीले काठमाडौंमा दौडधुप बढाएका छन् । अधिकांश दाबेदार जितको शुभकामना आदानप्रदानलगायत बिभिन्न बहानामा शीर्ष नेताहरूसँग ‘लबिङ’ गरिरहेका छन् । जिल्ला र निर्वाचन क्षेत्रमै रहेका नेताहरू पनि चाँजोपाँजो मिलाएर काठमाडौं गएका छन् भने कोही जाने तयारीमा छन् ।
कतिपय आकांक्षी भने जिल्लाबाटै केन्द्रीय नेताहरूसँग टेलिफोन सम्पर्क गरिरहेका छन्। मुख्यमन्त्रीसँगै मन्त्रीका आकांक्षी पनि दौडधुपमा बेस्त रहका हुन् । अहिलेसम्म प्रत्यक्षतर्फको परिणाम अनुसार सुदुरपश्चिम प्रदेशमा वाम–लोकतान्त्रिक गठबन्धनको सरकार बन्ने अंकगणित देखिएको छ। सुदूरपश्चिममा सत्तागठबन्धनमा आबद्ध दललाई बहुमत पुग्ने देखिएको छ। प्रदेशमा सबै भन्दा बढी क्षेत्रमा विजयी भएको नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादी पार्टीका मुख्यमन्त्रीका आकाङ्क्षी काठमाडौँमा रहेका छन्।
उनीहरुले दलको नेतासँगै प्रदेशको नेतृत्व दिन केन्द्रीय नेतृत्वसँग आग्रह गरिरहेका छन्। कांग्रेसबाट सुदूरपश्चिमको मुख्यमन्त्रीकालागि आकांक्षी बनेका प्रकाश देउवा भने तीन दिन काठमाडौं बसेर बिहीबार धनगढी फर्किसकेका छन् । कांग्रेसकै अर्का आकांक्षी बझाङका पृथ्वीबहादुर सिंह भने काठमाडौंमै नेताहरूसँग भेटघाटमा व्यस्त छन् । सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि माओवादीका प्रदेश इन्चार्ज खगराज भट्ट प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि गृहजिल्ला डडेल्धुरास्थित आफ्नो निर्वाचन क्षेत्रमै व्यस्त छन् । चुनावी सभाका क्रममा कांग्रेस सभापति देउवाले समेत उनलाई ‘भावी मुख्यमन्त्री’ बताएका थिए । कांग्रेसबाट मुख्यमन्त्रीका आकांक्षी दिवानसिंह विष्ट र बहादुरसिंह थापा पनि गृहक्षेत्रमा मतदाता भेटघाटमा व्यस्त छन्। यी दुवै नेता कञ्चनपुरबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
यस्तै समाजवादीबाट प्रदेश सभामा विजयी भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले यतिबेला काठमाडौँमा रहेका छन्। उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललगायका नेताहरुलाई भेट्ने कार्यक्रम छ। स्वाभाविक रुपमै मुख्यमन्त्रीको दावेदार भएको बताएका छन्। त्यो कुरा शिर्ष नेताहरुले गर्ने र कस्तो गठबन्धन हुन्छ त्यसपछि मात्रै भन्न सकिने बताए। सुदूरपश्चिम प्रदेश सभामा कञ्चनपुरबाट विजयी भएका नेपाली काँग्रेसका नेता बहादुर थापा पनि काठमाडौँमै रहेका छन्। उनले गठबन्धनका नेताहरु बिच छलफल नभएको र प्रदेश कसले पाउने भन्ने अब थाहा हुने बताए। दलको नेताका लागि म सिनियर भएको उनको भनाई छ।
सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सदस्य हुने व्यवस्था छ। प्रदेशमा ३२ प्रत्यक्ष र २१ सामानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। प्रदेश सरकार सञ्चालनका लागि कम्तीमा २७ जना प्रदेशसभा सदस्यहरुको समर्थन रहने गर्दछ। सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फको मत परिणाम अनुसार कांग्रेसले सबैभन्दा धेरै १२ सीट जितेको छ। त्यस्तै प्रत्यक्षतर्फ माओवादी केन्द्रले ८ निर्वाचन क्षेत्र नागरिक उन्मुक्ति पार्टी ५ क्षेत्रमा विजयी भएको छ। त्यस्तै, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले समान ३र३ क्षेत्र तथा स्वतन्त्र १ जना उम्मेदवार जितेका छन्। प्रत्यक्षतर्फको परिणामलाई मात्रै आधार मान्दा सुदूरपश्चिम कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र नागरिक उन्मुक्ति पार्टी तेस्रो दल बनेका छन् । एमाले र नेकपा एस चोथौं दलका रूपमा स्थापित भएका छन्।