दार्चुला। दार्चुला सिमानाका क्षेत्रमा भारत प्रवेश गर्ने नेपालीलाई कडाइ गरेको छ । भारतीय पक्षले नेपालीलाई नेपाल–भारत आवागमनमा कडाइ गरेको जनाएको छ। हिजो नेपाली र भारतीय नागरिकबीच ढुंगा हानाहान भएपछि आजदेखि भारतीय पक्षले आवागमनमा कडाइ गरेको हो। भारतीय नागरिकले हिजो दार्चुलास्थित महाकाली नदीमाथिको पुल बन्द नै गराएका थिए।
फेरी आज बिहान करिब दुई घण्टा बन्द गरेको पुल अहिले भने खुलेको छ। दार्चुला महाकाली नगरपालिका–४ का अध्यक्ष जगतबहादुर चुनाराले अरु दिन सधै जसो ७ बजे पुल खुल्ने गरेको भएपनी आज नेपालतिर पुल खुल्दा पनि भारततर्फ नखुलेको पुल दुई घण्टा पछि मात्रै खुलेको बताए । पुल बन्द हुँदा काम गर्न महाकाली पारी भारततर्फ धार्चुला जाने नेपाली नागरिक रोकिएका र अहिले पुल खुलेपछि आवत जावत चलेको उनले बताए। तर भारततर्फ जाने नेपाली नागरिकमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कडाइ गरेका छन्।
उनीहरुले परिचय खुल्ने कागजपत्र हेरेर मात्रै भारत प्रवेश दिइरहेको बताइएको छ ।नेपालबाट दैनिक ज्याला मजदुरी गर्न भारततर्फ नेपालीहरु जानेका छन् । भारतीय एसएसबीले कोरोना महामारीको समयमा परिचय खुल्ने कागजपत्र हेर्ने गरेको उनले बताए । कहिले काही मनलाग्दी चेकजाँच हुने गरेको बताउँदै फेरि चेकजाँचमा कडाई गरेको बताए । भारतीय पक्षले नेपालीको नागरिकता, मतदाता परिचय पत्र वा आधार कार्ड हेरेर भारत प्रवेश दिइरहेको छ। यस्तै नीय मोहनसिंह डोबालले भारतीय सीमा सुरक्षा बल एसएसबीले सीमा अनावश्यक चेकजाँच गरेर सास्ती दिइरहेको बताए। सीमामा बारम्बार तनाव हुँदा पनि सरकार मुकदर्शक बनेको उनले भने ।
महाकाली नदीको धार परिवर्तन गर्ने गरी भारतले एकतर्फी ढंगले तटबन्ध निर्माण गरिरहेको भन्दै नेपाली नागरिकले आइतबार विरोध गरेका थिए। त्यसपछि भारतीय नागरिकले नेपालीमाथी ढुंगा प्रहार गर्दा नेपालीले पनि प्रतिकारमा उत्रिएका थिए। महाकाली वारिपारी दोहोरो ढुंगा हानाहान हुँदा चार जना नेपाली सामान्य घाइते समेत भएका थिए। त्यसको विरोधमा पुल बन्द गराएका र फेरी आज बिहान भारतीय पक्षले दुई घण्टा फेरि पुल बन्द गराएको थियो।बिहान केही समय बन्द रहेको पुल अहिले खुलेको दार्चुला प्रसासनले बताएको छ। प्रमुख जिल्ला अधिकारी (सीडीओ) दीर्घराज उपाध्यायले भारतीय प्रशासनसंगको छलफलमा नेपाली पक्षसंग समन्वय गरेर महाकालीको धार परिवर्तन नहुने गरी तटबन्धन गर्ने सहमति भएको बताए ।यस्तै विवाद नरहेको ठाउँमा अहिले काम गर्ने बताईएको छ। अहिले स्थिती सामान्य रहेको प्रहरीले जनाएको छ ।घटनापछि भारतीय पक्षको व्यवहारमा कुनै परिवर्तन नआएको उनले बताए। उनीहरु सहजै ओहोरदोहोर गरिरहेको बताइएको छ ।