धनगढी। धनगढीमा चेतना साउँदको ग्रेडरले कुल्चीएर मृत्यु भएको भन्दै प्रदर्शनमा उत्रिएका २१ विद्यार्थी प्रहरीले पक्राउ गरेको छ । विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोड्दै आन्दोलनमा उत्रिएपछि धनगढीको स्थिति तनावग्रस्त बनेको हो। प्रहरीले स्थिति नियन्त्रणमा लिन अहिलेसम्म ३७ सेल अश्रुग्याँस प्रहार प्रहार गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले आन्दोलनकारी विद्यार्थी र स्थानीयले प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस हानेको बताए। उनले अहिलेसम्म ३७ सेल अश्रुग्याँस प्रहार गरेको र आन्दोलनमा संलग्न विद्यार्थी र स्थानीय महिला गरी २१ जनालाई पक्राउ गरेको जानकारी दिएका छन्। अश्रुग्याँस प्रहार गरेपछि स्थानीय र विद्यार्थी तितरवितर भएका छन्। बिहीबार ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउँदको मृत्यु भएको घटनालाई लिएर स्थानीय प्रशासनले बिहीबार साँझ देखी निषेधाज्ञा जारी गरेको थियो।
निषेधाज्ञाकै बीच न्यायको माग गर्दै स्थानीय तथा विद्यार्थीहरु बिहानैदेखि प्रदर्शन गरिरहेका छन्। उनीहरुले दोषीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। बिहीबार बिहान धनगढी उपमहानगरपालिका ५ स्थित पिपलचौतारा नजिकै कालिका कन्स्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिंदा साइकलमा विद्यालय गइरहेकी १५ वर्षीया साउदको घटनास्थलमै मृत्यु भएको थियो। जिल्ला प्रशासन कार्यालयले पीडित पक्षलाई छलफलका लागि बोलाइएको र छलफल जारी रहेको बताइएको छ ।