धनगढी। धनगढीको स्थिति तनावग्रस्त बनेको छ। बिहीबार धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउँदको मृत्यु भएपछि विद्यार्थीहरुले निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि धनगढीको स्थिति तनावग्रस्त बनेको हो। आफ्नो सहपाठीको हत्या गर्ने दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै पञ्चोदय माविका विद्यार्थी आन्दोलनमा उत्रिएका छन्।
उनीहरुको आन्दोलन उग्र रुप लिन थालेपछि स्थिति नियन्त्रण गर्न प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ। हवाई फायरपछि विद्यार्थीहरू तितरवितर भएका छन्। ११ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धडपकड पनि गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। बिहीबार बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको सडक निर्माणका क्रममा ग्रेडरले किचेर मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्। घटनाले बृहत रूप लिएपछि बिहीबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञाबीचमै अहिले पनि धनगढीका केही स्थानमा प्रशासनविरूद्ध विद्यार्थीहरू नाराबाजी गरिरहेका छन्। विद्यार्थीले घटनाको क्षतिपूर्तिसहित चालकलाई कारबाहीको माग गरिरहेका छन्।