धनगढी। धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउँदको मृत्यु भएपछि विद्यार्थीले आन्दोलन जारी राखेका छन् । यता आन्दोलन बढ्न थालेपछि कैलाली प्रशासनले बिहीबार साँझ ७ बजेदेखि जारी गरेको निषेधाज्ञा आज शुक्रबार साँझ ७ बजेसम्म कायमै राखेको छ। तर स्थानिय तथा बिद्यार्थीहरुले धनगढीमा निषेधाज्ञा जारी गरिएकै क्षेत्रमा आन्दोलन तथा प्रदर्शन गरिरहेका छन्।
उनीहरु शुक्रबार बिहानैबाट आन्दोलन गरिरहेका हुन्। प्रशासनले पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुरानो फूलबारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा धनगढी–४ रातोपुल, उत्तरमा धनगढी–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा धनगढी–१ र २ स्थित हुलाकी राजमार्गलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। विद्यार्थीहरुले अहिले डिभोटी चोकमा आन्दोलन गरिरहेका छन्। हिजो धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउँदको मृत्य भएको थियो।
धनगढी–५ तारानगरकी साउँदको हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो। विद्यार्थीहरुले आन्दोलन गर्दै हिजो सडकमा टायर जलाउँदै प्रदर्शन गरेका थिए। आन्दोलकै क्रममा केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरका चालक चितवन भरतपुर महानगरपालिका २८ का २७ बर्षीय विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी माथी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।