बैतडी। बैतडीमा घाँटी रेटिएको अवस्थामा २१ वर्षीया माया लुहार मृत फेला परिन् । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ को सैलोडाकी २१ वर्षीया माया लुहार घाँटी रेटिएर हत्या गरिएको अवस्थामा फेला परेकी हुन् । उनी भर्खरै सम्पन्न निर्वाचनमा म्यादी प्रहरी भएकी खुलेको छ। माया लुहार र १५ वर्षीया नेहा लुहार गाउँकै अन्य दुईजना साथीसँग मंगलबार बिहान घरबाट लुगा सिलाउन भनि पञ्चेश्वर गाउँपालिका–३ कुलाउ बजार गएका थिए।
घरबाट कुलाउ पुग्न करिब डेढ घण्टाको पैदल यात्रा गर्नुपर्छ। माया र नेहा नाताले फुपु–भदैनी हुन् । उनीहरुसँगै गएका अन्य दुई जना बेलुका घर फर्किए । तर, माया र नेहा बेलुकासम्म घर फर्किएनन् । कुलाउमा इष्टमित्र बस्ने भएकाले उनीहरु त्यहीँ बसेको परिवारका सदस्यहरुले अनुमान गरे । तर, उनीहरु दोस्रो दिन बिहानसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजी गरेका थिए । नेहालाई बुधबार दिउँसो गोठालोले पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बालाडाँगामा फेला पारेका थिए। उनी घाइते अवस्थामा भेटिएकी थिइन् ।
नेहाले मायाको घाँटी रेटेर हत्या भएको सुनाइन् । त्यो खवर गाउँलेहरुले थाहा पाएपछि प्रहरीलाई खबर गरपछि नेहाले भनेकै ठाउँमा मायाको शव भेटियो । मायाको शव शिवनाथ गाउँपालका–६ शिवनाथ मन्दिर नजिकै भेटिएको हो । उनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । माया जवलपुर माध्यमिक विद्यालय सैलोडामा कक्षा १२ र नेहा कक्षा ९ मा अध्ययनरत थिए । घाइते नेहाको अहिले उपचार भइरहेको छ । स्थानीयले घटनामा शिवनाथ गाउँपालिका–६ सोलपालाका एक सशस्त्र प्रहरीमाथि आशंका गरेका छन् । ती सशस्त्र प्रहरीका जवान बिदामा घर आएका थिए ।
केही दिनअघि कुलाउमा उनले मायाको मोबाइल खोसेका थिए । घरमा सोधीखोजी गर्दा मायाले मोबाइल ‘साथी’ले लगेको बताएकी थिइन् । ती सशस्त्र प्रहरी जवान शिवनाथ–४ का भरत कोली भएको उनीहरुको शँका छ । अहिले फरार हुँदा उनीप्रति शंका बढेको स्थानीय बताएका छन् । मृतक लुहार भर्खरै सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा म्यादी प्रहरीका रूपमा बैतडीको शिवनाथ गाउँपालिका सोल्पलामा खटिएकी थिइन् । त्यती बेला सशस्त्र प्रहरी बल नेपालमा कार्यरत शिवनाथ गाउँपालिका–४,का भरत कोली बिदामा घर आएका थिए । मायासँग कोलीको राम्रै चिनजान रहेको बताइन्छ । म्यादी प्रहरीको समय सकिएपछि घर फकिने बेला मृतक मायाको फोन भरत कोलीले खोसेर आफूसँगै राखेको खुल्न आएको छ ।
मङ्गलवार बिहान १०ः बजे घरबाट पञ्चेश्वर गाउँपालिका–३ कुलाउमा लुगा सिलाउन गएको भनिए पनि माया लुहार फोन लिन र कोलीसँग भेटघाट गर्न घरबाट १५ वर्षीय नेहालाई साथमा लगी शिवनाथ गएको बुझिएको छ । मृतक माया लुहारको शब फेला परेको स्थानमा मङ्गलवार राति आगोसमेत बालेको पाइएको स्थानीयले बताएका छन् । मङ्गलवार बिहान घरबाट लुगा सिलाउन भनेर हिँडेका युवति घर नफर्के पछि बुधवार आफन्तले प्रहरीमा खबर गरेर खोजी गर्दै जाँदा बुधवार बेलुकी ४ः१५ बजे माया मृत अवस्थामा फेला परेकी हुन् भने नेहा घाइते अवस्थामा भेटिएकी थिइन् । घटनाको गहिरो अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रेमबहादुर शाहीले आफै घटनास्थलमा खटिएको बताएका छन् । उनका अनुसार आरोपित फरार रहेकाले उनको घर पुगेर थप विवरण बुझ्ने काम भईरहेको उनले बताए । उनीहरुको बीचमा चुनावको बेला मात्र होइन्, त्यसअघि पनि फोन र म्यासेन्जरमा कुराकानी हुने गरेको खुलेको परिवारका सदस्यले बताएका छन्।
‘म तिम्रो बहिनीसँग बिहे गर्छु भन्दै भरतले मायाको दाजुलाई यसअघि नै प्रस्ताव राखेको परिवारका सदस्यले बताएका छन्। जात मिल्ने र जागिरे पनि भएकाले मायाको परिवारबाट कुनै रोकतोक नभएको र विवाह गरिदिनेमा राजि भएको स्थानीयसमेत रहेका पञ्चेश्वर गाउँपालिका–४ का वडाध्यक्ष जनकबहादुर चन्दले बताए । बुवाको पहिल्यै मृत्यु भइसकेको र बहिनीको मन मिल्छ भने बिहे गर्दिन्छु भन्दै दाई घरसल्लाहमा रहेको उनले बताए । उनीहरुकाबीच फुर्सद मिलाएर कुराकानी हुने गरेको खुलेको छ। भरतले मोबाइल खोसेको मोबाइल अहिलेसम्म फेला पर्न नसकेको र खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रेम शाहीले बताएका छन् । मायाको मोबाइलबाट उनका साथीहरुसँग भरतले फेसबुक म्यासेन्जरमा कुराकानी गरिरहेको खुलेको छ।को–कोसँग के–के संवाद भयो त्यो अझै नखुलेको उनले बताए । हत्या योजनावद्ध ढंगले भएको देखिएको प्रहरीले बताएको छ । सो घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।