बैतडी। बैतडीमा घाँटी रेटी हत्या गरिएकी माया लुहार म्यादी प्रहरी भएको खुलेको छ। बैतडीमा बुधबार घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेकी पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी २१ बर्षीया माया लुहार भर्खरै सम्पन्न भएको निर्वाचनमा म्यादी प्रहरी भएको प्रहरीले जनाएको छ।
मंगलबार घरबाट कपडा सिलाउन भनी भन्दै नाता पर्ने १५ वर्षीया नेहा लुहारसँग पञ्चेश्वर ३ कुलाउतिर हिँडेकी उनी घर नफर्केपछि खोजी गर्दै जाँदा हत्या गरेको अवस्थामा फेला परेकी थिइन् । यस्तै उनीसँगै गएकी नेहा घाइते अवस्थामा फेला परेकी थिइन्। हत्या गरिएकी माया प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना भएकी लुहार सेवा अवधि सकिएपछि घर फर्किएकी थिइन्।
जिल्ला प्रहरी कार्यालयले घाइते नेहाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाएको छ। मायाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ। प्रहरीले घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिएका छन् । स्थानीयहरुले मायाको हत्या आशंकाको घेरामा सशस्त्र प्रहरीका एक जना जवान रहेको आशँका गरेका छन् । केही दिन पहिला पञ्चेश्वर घर भएका सशस्त्र प्रहरीका जवानले मायाको मोबाइल खोसेको कुरा जानकारीमा आएकाले उनी शंकाको घेरामा परेका पञ्चेश्वर गाउँपालिका(४ का वडा अध्यक्ष जनकबहादुर चन्दले बताए। घटनापछि ती सशस्त्र प्रहरीका जवान फरार बताएका छन्। सशस्त्र प्रहरीका जवानसंग मायाको कुराकानी हुने गरेको पारिवारिक श्रोतले समेत बताएको वडा अध्यक्ष चन्दले बताए। प्रहरीले घटनाबारे विभिन्न कोणबाटअनुसन्धान भइरहेको जनाएको छ ।