बाजुरा। बाजुरामा रोकिएको मतगणना सुरु गर्ने निर्वाचन आयोगले निर्णय गरेपनी त्यहाँ अझै मत गणना सुरु हुन सकेको छैन। मत गणना सुरु गर्नका लागी सर्वदलिय बैठकमा एमाले अनुपस्थित हुँदा मत गणना सुरु नभएको हो । निर्वाचन आयोगले मतगणना सुरु गर्न निर्देशन जारी गरेको थियो।
मतगणना थाल्न आयोगको निर्देशन आएपछि हिजो साढे ४ बजे जिल्ला निर्वाचन अधिकृत ढांकाराम पौडेलले सर्वदलीय बैठक बोलाएका थिए। सर्वदलीय बैठकबाट निकास दिएर मत गणना सुरु गर्ने तयारी भएपनि नेकपा एमाले अनुपस्थित हुँदा कुनै निर्णय हुन सकेन। सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएपछि अहिले बिहान ७ः००बजे पुनः एमालेलाई बैठकमा उपस्थित हुन आह्वान गर्दै हिजोको बैठक सकिएको थियो। अहिलेको बैठकमा पनि एमाले उपस्थित छैन । आफूहरूको माग सम्बोधन नभए सम्म बैठक बहिस्कार गर्ने जिल्ला सचिव भरत थापाले बताए।
मङ्सिर ४ गते निर्वाचन सकिएपछि घरमा रहेका विद्यार्थी नेता चेतन ऐडीको हत्यामा संलग्नहरूलाई पक्राउ नगर्दा सम्म र एमाले कार्यकर्ताहरूलाई रिहा नगर्दा सम्म आफूहरू सर्वदलीय बैठकमा सहभागी नहुने उनले जानकारी दिए । चेतनका परिवारले २२ जना विरुद्ध किटानी जाहेरी दिएका छन्। उनीहरु सबैलाई पक्राउ नगर्दा सम्म आफूहरूको माग सम्बोधन नहुने थापाले बताए। घटनामा संलग्नहरूलाई कारबाहीको माग गर्दा पक्राउ परेका ११ जनालाई विना सर्त रिहाको माग समेत राखिएको छ। यी दुबै माग सम्बोधन गर्ने भन्दै ऐडीको शव उनका आफन्तले बुझेका थिए। तर, त्यसपछि पनि उनीहरुको माग सम्बोधन नभएपछि सर्वदलीय बैठक बहिस्कार गरेको सचिव थापाको भनाइ छ। यता मुख्य निर्वाचन अधिकृत ढांकाराम पौडेल भने अहिले सर्वदलीय बैठक बसिरहेको बताए। सर्वदलीय बैठकमा एमालेका नेताहरू नआएको र उहाँहरूलाई कुरिरहेका उनले बताएका छन्।