धनगढी। सुदूरपश्चिमबाट प्रदेश सभामा कुनै पनि दलबाट एक जना पनि महिला निर्वाचित नभएपछि ३३ प्रतिशत महिला पुर्याउन दलहरुले महिला छनौट गर्नुपर्ने अवस्था भएको छ। सुदूरपश्चिम प्रदेश सभामा ५३ सदस्य छन्। संविधानले ३३ प्रतिशत महिला हुनु पर्ने बाध्यकारी व्यवस्था गरेकाले सो व्यवस्थाअनुसार राजनीतिक दलहरुले सुदूरपश्चिम प्रदेश सभामा कम्तिमा १७ जना महिलालाई छनौट गर्नैपर्ने भएको हो।
प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएर महिलाहरु आउन सकेका थिएनन्। यसरी २१ जना समानुपातिक प्रदेश सभा सदस्यमध्ये १७ जना महिला र ४ जना मात्र पुरुष छानिने भएका छन्। निर्वाचन आयोग सुदूरपश्चिम कार्यालय धनगढीका प्रमुख प्रेम राज भट्टले प्रदेश सभामा प्रत्यक्षतर्फ महिलाहरु निर्वाचित नभएकोले दलहरुले गरेको महिला सहभागिताको व्यवस्था समानुपातिक सूचीबाट पूरा गर्नुपर्ने अवस्था रहेको बताए। सुदूरपश्चिम प्रदेश सभाका लागि भएको निर्वाचनमा बाजुराबाहेकका ८ जिल्लाबाट २८ प्रदेश सभा सदस्य निर्वाचित भइसकेका छन्।
ती निर्वाचित सबै पुरुष रहेका छन्। निर्वाचन कानुनमा सुदूरपश्चिम प्रदेशमा खस आर्य ६० प्रतिशत, आदिवासी जनजाति तीन दशमलव ६ प्रतिशत, थारु १७ प्रतिशत, दलित १७ प्रतिशत, मधेशी १ दशमलव ६४ प्रतिशत, अल्पसंख्यक २ दशमलव ३७ प्रतिशत, पिछडिएको क्षेत्र १२ दशमलव ७८ प्रतिशत हुनुपर्ने व्यवस्था छ। यी सबै क्षेत्रको सहभागिता गराउँदा महिला सहभागिता ३३ प्रतिशत हुनुपर्ने कानुनी व्यवस्था छ। सुदूरपश्चिम प्रदेश सभाको मंसिर ४ मा भएको निर्वाचनमा हालसम्म नेपाली कांग्रेसबाट ११ जना, नेकपा माओवादी केन्द्रबाट ८ जना, नागरिक उन्मुक्ति पार्टीबाट ५ जना, नेकपा एमालेबाट ३ जना, नेकपा एकीकृत समाजवादीबाट २ जना र स्वतन्त्र एक जना निर्वाचित भएका छन्। बाजुरामा मतगणना नै नभएकाले दुई प्रदेश सभा सदस्य निर्वाचित हुन बाँकी रहेको जनाइएको छ।