कञ्चनपुर। कञ्चनपुरमा लागुऔषध खैरोहिरोइनसहित ३ जना युवायुवती पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरुलाई बेलौरी नगरपालिका-७ बाट अटोमा सवार रहेका बेला पक्राउ गरिएको हो।
सोमबार उनीहरु सवार सु.प्र.प.०१ ००१ ह २८१२ नम्बरको अटो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए। पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका ३ का ४६ वर्षीय कर्ण विक, मोरङको विराटनगर उपमहानगरपालिका ६ जामुनगाछी घर भई हाल गोदावरी २ अत्तरिया बजारमा होटलमा काम गर्ने ३३ वर्षीय राकेश कोइराला र कृष्णपुर गरपालिका ९ राजघाट बस्ने २४ वर्षीया अञ्जु भन्ने चन्द्रवती कपड्याल रहेका छन्।
अटोमा सवार उनीहरुलाई २.९१ ग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई शंका लागी चेकजाँच गर्ने क्रममा राकेशले बायाँ हातमा लुकाईछिपाई राखेको लागुऔषध खैरो हिरोइन बरामद गरिएको र तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।