धनगढी। धनगढी उप महानगरपालिकाको सरकारी गाडी विवाहको जन्ति बोक्न प्रयोग भएको पाइएको छ। धनगढीबाट महेन्द्रनगर जन्ति बोकेर गएको उक्त सुदूरपश्चिम प्रदेश ०१००१झ ०४७७ नम्बरको जिप बिवाहको जन्ति बोक्न प्रयोग भएको पाइएको हो।
सोमबार बिहान विवाहमा प्रयोग गरिएको उक्त जिप महेन्द्रनगरको मदनचोकबाट एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थी नेताहरुले नियन्त्रणमा लिएर सचेत गराएर छाडेका छन्। उक्त जिपको डालामा विवाहमा लैजान लागिएको तरकारीका बोरा र महिला र बालबालिका बोकेर लगेको भेटिएको अनेरास्ववियुका जिल्ला उपाध्यक्ष नरेन्द्र कार्कीले बताए। यता धनगढी उप–महानगरपालिकाका जिप चालक सुरेश चन्दले विवाहमा गाडी प्रयोग नभएको दाबी गरे।
उनले परिवार र घरका लागि तरकारीमात्र गाडीमा ढुवानी गरेको बताए। धनगढी उप–महानगरपालिकाले उक्त जिप निर्वाचन आयोगलाई दिएको थियो। सोमबार विहान १० देखि ११ बजेसम्म अनेरास्ववियुले बाजुराका अनेरास्ववियु केन्द्रीय सदस्य चेतन ऐडीको हत्या विरोधमा महेन्द्रनगरको मदनचोकबाट एक घण्टा चक्काजाम गरेको थियो । चक्काजामकै बेला उक्त जिप नियन्त्रणमा लिएपछि मात्रै सो बारेमा जानकारी भएको थियो ।