दार्चुला। दार्चुलाका व्याँस गाउँपालिका ४ का नरसिंह बिष्टको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । दार्चुलाको व्याँस गाउँपालिका ४ डोकटका ४० वर्षीय विष्टको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाइ पक्राउ गरिएको दार्चुला प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पक्राउ पर्नेमा व्याँस गाउँपालिका ४ डोकटकै २५ वर्षीय दीपक विष्ट हुन्।
दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले विष्टलाई आइतबार पक्राउ गरेर अदालतबाट सात दिनको म्याद थप भएको बताए। उनीमाथी थप अनुसन्धान भइरहेको उनले बताए। मङ्सिर ३ गते राति दुवै जनाको दार्चुला तिंकर सडकमा भेट भएको र दुवैले मदिरा सेवन गरेकाले विवाद हुँदा हत्या गरेको प्रहरीले जनाएको छ।दुवै जनाबिच एक आपसमा विवाद हुँदा दीपक विष्टले नरसिंह विष्टको टाउकोमा ढुङ्गाले हानेर हत्या गरेको प्रहरी निरीक्षक शाहीले बताए।
हत्यापछि उनले विष्टको शवलाई खोलामा लगेर ढुङ्गाले च्यापेको प्रहरीले उल्लेख गरेको छ। दिपकले हत्या पश्चात नरसिंहको शवलाई २ सय मिटर टाढा खोलामा फालेर ढुंगाले च्यापेको स्वीकार गरेको प्रहरीले जनाएको छ। नरसिंह मंसिर ३ गते बेपत्ता भएका थिए। दार्चुला सदरमुकाम खलङ्गामा होटेल व्यवसाय गर्दै आएका नरसिंह चुनावको अघिल्लो दिन भोट दिन भनेर गाउँ गएका थिए। आफन्तहरूले उनको हत्या भएको हुन सक्ने भन्दै मङ्सिर १० गते सम्म शव बुझ्न मानेका थिएनन् । नरसिंह विष्ट हत्या घटनाको अनुसन्धानका लागि सिआइबीको टोली समेत खटाएको थियो। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।