कैलाली। कैलालीको घोडाघोडी नगरपालिकाका मेयर खडक बहादुर रावलले सरकारी निवासमा भएको घटना सामान्य भएको बताएका छन्। उनले प्रमुख प्रशासकीय अधिकृत निवासमा भएको घटना सामान्य भएको र उत्तेजित हुँदा वडाध्यक्षले टेबुलमा मुट्कि हानेर सो घटना भएको बताए ।
उनले भने, ‘हामी कार्यपालिकाका बिषयमा अनौपचारीक छलफल गर्न प्रमुख प्रशासकीय अधिकृतको निवासमा गएका थियौ’, त्यहाँ गएपछि केही साथिहरुमा अलि बढी उत्तेजना पनि देखिएको थियो । त्यसै क्रममा यस्तो पनि हुन्छ र, भन्दै टेबुलमा मुट्कि हान्दा टेबुल फुटेको हो, उनले भने।’ उनले निवासमा कुनै पनि किसिमको पार्टी आयोजना नगरिएको बताए । यस्तै प्रमुख प्रशासकीय अधिकृतले दिपक आचार्यले छलफलका क्रममा विवाद भएर घटना भएको बताए। उनले वडा नम्बर १ का वडा अध्यक्षले आक्रोसमा आएर जोडले टेबुलमा हान्दा फुटेको भने।
प्रमुख प्रशासकीय अधिकृत आचार्यले भने, ‘सल्लाह नभइ काम किन भयो, सरुवा हेरफेर किन भयो, सवारी साधन प्रयोग निश्चित मापदण्ड पालना गर्नुपर्यो, महत्वाकाक्षा गर्नु भएन लगायतका बिषयमा छलफल गर्दा विवाद भएको हो’ ‘छलफलमै सामान्य विवाद भयो। उनले त्यसपछि त्यहाँ टेबुल फुटेको हो उनले भने । पार्टी आयोजना गरिएको होइन् ।’ तर उनले तस्बिरमा रक्सिका बोतल देखिएको भनेर पत्रकारले सोधको प्रश्नमा त्यो आफ्नो निजी निवास भएको भने। तर उनले ठोस जवाफ दिन आलटाल गरे। यद्दपी सामाजिक संजालमा भने प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा मेयर सहितको रक्सि पार्टी गरेर सार्वजनिक सम्पती तोडफोड गरिएको भन्दै चर्को आलोचना भइरहेको छ।
शनिबार राती कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत दिपक आचार्यको सरकारी निवास तोडफोड भएको भन्दै तस्बिर सार्वजनिक भएको थियो। उक्त तस्बिरमा भुइमा खसेको रक्सिको बोतल र मासु पनि देखिएको थियो। राती प्रमुख प्रशासकीय अधिकृतको निवास घोडाघोडीका मेयर रावलसंगै वडा नम्बर १ का अध्यक्ष घनश्याम ओझा, ४ का अध्यक्ष भरत शाही, ७ का जुगराम चौधरी र १२ मा रामदुलारी चौधरी गएका थिए। यसैबीच सो सम्बन्धमा नगरपालिकाको बैठक आज बसेको थियो। टेवल तोडफोड भएको बिषयमा आगामी दिनमा यस्ता घटना हुन नदिने सहमति भएको जनाइएको छ।