कञ्चनपुर निर्वाचन–२ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार साउदले २८ हजार १०० मत पाए भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मत पाए । साउद ६ हजार ४५५ मतान्तरले विजयी भएका हुन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झंकरराज जोशीले चार हजार नौ सय ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंहले तीन हजार पाँच सय १० मत पाए ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो क्षेत्रमा ६४ हजार सात सय ५२ मत खसेको थियो । जसमा चार हजार नौ सय २० मत बदर भएको छ । प्रदेशसभाका दुईवटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा ९२० मा कांग्रेसका उम्मेदवार बहादुर सिंह थापाले एमालेका उम्मेदवार कृपाराम रानालाई एक हजार सात सय २६ मतान्तरले पराजित गरे ।
थापाले १० हजार छ सय ६८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका रानाले आठ हजार नौ सय ४२ ल्याए । त्यसैगरी नेकपा एकीकृत समाजवादीका लालबहादुर खड्काले चार हजार चार सय चार मत ल्याए ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो क्षेत्रमा ५० हजार आठ सय ८९ मतदाता रहेकामा ३० हजार नौ सय ४५ मत खसेका थिए । जसमा एक हजार छ सय ४१ मत बदर भएको निर्वाचन अधिकृत मोहन जोशीले बताए ।
त्यसैगरी प्रदेशसभा ९१० मा नेकपा (माओवादी केन्द्र) का ओमविक्रम भाट निर्वाचित भएका छन् । उनले १० हजार नौ सय २५ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका बचनबहादुर सिंहले १० हजार चार सय ५० मत ल्याए । त्यसैगरी नागरिक उन्मुक्ति पार्टीकी गीता चौधरीले ५ हजार एक सय ५२ र राप्रपाका चन्द्रकान्त भण्डारीले ३ हजार ५७ मत पाए ।