दार्चुला। दार्चुलाको व्यास गाउँपालिका–४ मा एक जना युवकको शव फेला परेको छ। दार्चुलाको व्याँस गाउँपालिका–४ घोलचौर खोलामा ३५ वर्षीय नरेन्द्र विष्टको शव फेला परेको प्रहरीले जनाएको छ। दार्चुलाको खलङगाबजारमा होटल व्यवसायी गर्दै आएका विष्टको हत्या भएको आशँका गरिएको छ।
विष्टको हत्या गरेर सुनसेराको डोम क्षेत्रमा फालिएको अवस्थामा सोमबार बिहानै शव फेला परेको थियो। ३ गते रातिबाट वेपत्ता भएका विष्ट आइतबार भोट हाल्न नआएपछि स्थानीयले खोजि गरेका थिए। विष्ट नेकपा (एमाले) का स्थानीय कार्यकर्ता रहेको खुलेको छ। उनको हत्या भएको हुनसक्ने भन्दै आफन्त आक्रोशित भएका छन्।
घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजेश शाहीले बताए। निर्वाचनको अघिल्लो दिन त्यहीँ क्षेत्रमा कांग्रेसको प्रचारमा खटिएको एउटा मोटरसाइकलमा पनि अपरिचित व्यक्तिले आगजनी गरेका थिए। उक्त मोटरसाइकल पूर्व गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकीको थियो।फोन सम्पर्क कम भएको हुनाले सबै कुरा खुल्न नसकेको दार्चुला प्रहरीका डीएसपी तर्कराज पाण्डेयले बताएका छन् ।