धनगढी। कैलालीमा नेपाली सेनाको ब्यारेक नजिकै संकास्पद वस्तु बम फेला परेको छ। आइतबार जिल्लाको गौरीगंगा नगरपालिका वडानम्बर ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै बम फेला परेको हो। प्रहरीका अनुसार कालिका गण नजिकै प्रेसर कुकर बम फेला परेको हो।
तर, अहिले उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ। आज कैलालीसहित देशभर मतदान भइरहेको छ। निर्वाचन बिथोल्ने अभियानमा लागेकाहरुले उक्त कार्य गरेको हुनसक्ने प्रहरीको अनुमान छ। जिल्लामा अन्य ठाउँमा शान्तिपुर्ण रुपमा निर्वाचन भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेद प्रकाश जोशीले जानकारी दिए ।
त्यस्तैकञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ स्थित कालिका माध्यमिक विद्यालय नजिकको मतदान केन्द्र नजिक भेटिएको ‘शंकास्पद वस्तु’ नेपाली सेनाले निस्क्रिय पारेको छ। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मतदान केन्द्र नजिकै टिनको डिब्बामा शंकास्पद वस्तु फेला परेको हो। अहिले यो क्षेत्रको स्थिति सामान्य रहेको छ। मतदान कार्य जारी छ।