काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन मतदाताहरूलाई अनुरोध गरेकी छन्। राष्ट्रपति भण्डारीले शनिबार एक विज्ञप्ति जारी गर्दै निर्वाचनसँग सम्बन्धित निकायहरूलाई निर्वाचन सफल बनाउन आह्वान गरेकी छन्। आम निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न ऐतिहासिक महत्त्व रहेको पनि राष्ट्रपतिको भनाइ छ।
भोलि मंसिर ४ गते आइतबार देशमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुन गइरहेको छ । जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यस आम निर्वाचनको ऐतिहासिक महत्व रहेको छ, राष्ट्रपतिले भनेकी छन्, निष्पक्ष‚ भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशस् जनउत्तरदायी हुँदै जान्छन्। यसबाट शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्दछ। स्वस्थ र सबल लोकतन्त्रबाट नै शान्ति‚ स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिन्छ ।
राष्ट्रपतिले मतदाताहरूलाई अनुरोध गरेकी छन्,मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले यस निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा अनुरोध गर्दछु ।निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग‚ सुरक्षा निकाय‚ राष्ट्रसेवक तथा सम्बद्ध सबैमा राष्ट्रपतिले आह्वान गरेकी छन्। जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको राष्ट्रपतिको भनाइ छ। जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो। आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा अभिव्यक्त गर्दछ,राष्ट्रपतिको भनाइ छ।