बझाङ। बझाङमा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा युवा नेता ऐनबहादुर महर र नेकपा (एकीकृत समाजवादी) पार्टी स्थायी कमिटी सदस्य भानुभक्त जोशी आसन्न निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जोशीलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहितको लोकतान्त्रिक–वाम गठबन्धनले साथ दिएको छ भने महरलाई पार्टीको मात्रै साथ छ। लामो समय एकै पार्टीमा रहेर काम गरेका दुवै उम्मेदवार मंसिर ४ मा हुने निर्वाचनका लागि भने प्रतिस्पर्धी बनेका छन्।
नेकपा (एमाले) बझाङका संस्थापकसमेत रहेका जोशी गत वर्ष एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा छन् भने महर राजनीतिको सुरुदेखि नै एमालेमै छन्। एमालेमा साढे चार दशक समय बिताएका र अहिले एकीकृत समाजवादीबाट उम्मेदवार भएका जोशी छबिस पाथीभेरा गाउँपालिकाका स्थायी बासिन्दा हुन्। भने एमालेमा साढे दुई दशकदेखि क्रियाशील महर जयपृथ्वी नगरपालिकाका स्थायीबासी हुन् ।
एमालेमा हुँदा विभिन्न सङ्गठन, पार्टीको जिल्ला नेतृत्व, प्रदेश, केन्द्र हुँदै मन्त्रीको पनि जिम्मेवारी पाइसक्नुभएका जोशी फेरि प्रतिनिधिसभा सदस्य बन्ने दौडमा छन् । अनेरास्ववियुबाटै राजनीति सुरुआत गरेका महर अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भएर पार्टीको केन्द्रीय सदस्य हुँदै प्रतिनिधिसभा सदस्य बन्ने दौडमा छन्। दुवै नेता जिल्लाको परिवर्तन, विकास, सम्भावना तथा चुनौतीका बारेमा जानकार छन् । एमालेमा रहँदा माधव नेपाल खेमामा देखिएका जोशी अहिले नेपालले नै नेतृत्व गरेको एकीकृत समाजवादीतिर छन् भने ओली खेमाका महर एमालेमै क्रियाशील छन् ।त्यसैले पनि आगामी मंसिर ४ गते हुने निर्वाचनमा जोशी–महरबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।
प्रतिनिधिसभाका उम्मेदवार भानुभक्त जोशी-भानुभक्त जोशीले विसं २०३६ सालमा नेपालगञ्जको शिक्षा क्याम्पसमा अनेरास्ववियुबाट राजनीति प्रारम्भ गरेका थिए । विसं २०४६/४७ को आन्दोलनमा उनी विद्यार्थी सङ्गठनबाटै अग्रपङ्क्तिमा रहेर काम गरेका थिए। आन्दोलनकै बेलामा नेकपा मालेको जिल्ला सचिवका रूपमा काम गरेका जोशी २०४८ सालमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लडे तर, झिनो मतले पराजित भएका थिए । विसं २०५१ मा भएको मध्यावधि निर्वाचनमा बझाङबाट प्रतिनिधिसभा निर्वाचनमा जित हात पारे । त्यो बेलामा तीन वर्ष जति सांसदका रूपमा काम गरेका छन्।
विसं २०६४ मा फेरि संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। विसं ०६८ वैशाख २१ गते मन्त्रिमण्डल पुनर्गठन हुँदा जोशी झलनाथ खनालको मन्त्रिमण्डलमा वन तथा भू–संरक्षणमन्त्री भए । उनको कार्यकाल चार महिना मात्रै रह्यो । अहिले जोशी आउँदो मंसिरको ४ गतेका लागि उम्मेदवार रहेका छन् । नेकपा एमालेमा हुँदा जोशीले जिल्लामा विभिन्न पद सम्हाल्दै जिल्ला नेतृत्व, अञ्चल कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गरे भने गतवर्ष मात्रै गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीमा उनी स्थायी कमिटी सदस्यको जिम्मेवारीमा छन् ।
विसं २०५१ मा एमालेको सरकार हुँदा ज्येष्ठ नागरिक भत्ता, सामाजिक सुरक्षाभत्ता, आफ्नो गाउँ आफैँ बनाऔँ जस्ता दर्जनौँ लोकप्रिय काम गरेको बताए। बझाङ जिल्ला सडक सञ्जालमा जोडेको उनको भनाई छ । उनले वडा वडामा सडक पक्की गर्नुपर्ने, विद्युत् सबै गाउँमा पु¥याउने, विभिन्न पालिकामा ग्रामीण विद्युतीकरण गरेर अघि बढ्ने, टेलिफोन सेवालाई स्तरीकृत बनाउनुपर्ने, शिक्षा, स्वास्थ्य, कृषिमा आमूल परिवर्तन गर्ने, चिकित्सक तथा अन्य स्वास्थ्य संस्थामा स्तरयुक्त गर्ने, प्रत्येक पालिकामा प्राविधिक शिक्षालय स्थापना गर्नेलगायतका योजनाको एजेण्डा बनाएका छन्।
प्रतिनिधिसभाका उम्मेदवार ऐनबहादुर महर –विसं २०५५ देखि औपचारिक रूपमा राजनीतिमा होमिएका ऐनबहादुर महर एमालेमा सशक्त युवा नेताका रूपमा चिनिन्छन् । विसं २०५० मा भएको मदन–जीवराज हत्या घटनापछि सुरू भएको आन्दोलनबाट उनी पूर्णरूपमा राजनीतिमा होमिएका थिए । मुलुकमा परिवर्तन, विद्यार्थीको हकाधिकार, सुशासनका लागि, भ्रष्टाचार विरोधजस्ता सबै खाले सङ्घर्ष गर्दै महरले २०७६ जेठ ३ गते अनेरास्ववियुको सर्वोच्च जिम्मेवारी प्राप्त गरेका थिए । त्यसमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भएपछि महर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सबैभन्दा ठूलो विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्ष भए । विद्यार्थी सङ्गठनपछि उनी अहिले नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा छन् ।
सङ्गठनमा विद्यार्थी तथा पार्टी नेतृत्वको मन जित्ने र विश्वासिलो पात्र बनेपछि आफूलाई नेतृत्व प्रदान गरेको उनी बताउँछन् । “अहिले प्रतिनिधिसभा सदस्यका लागि पार्टीले टिकट दिइसकेपछि उत्साहित हुनुका साथै जिम्मेवार बनाएको बताए । महर आफूलाई जनताले रोजको उम्मेदवार भएको बताएका छन् । बझाङका हरेक समस्या महसुस गरेको र बुझेको हुँनाले बझाङबासी आम जनता मेरो जितको प्रतीक्षामा रहेको उनले बताए । महरले प्राकृतिक स्रोतले भरिएको ठाउँ सम्भावनाले भरिभराउ रहेको बताए । दुई हजार मेगावाट हाइड्रो उत्पादन गर्ने क्षमता भएको ठाउँ,रहेको बताए । पर्यटन क्षेत्र, कृषि खेतीको सम्भावना, चैनपुर ताक्लाकोट बाटो मानसरोबरसम्म जोड्ने सडकका लागि काम गर्ने नेतृत्व आवश्यक रहेको उनले बताए। महरले आफूले चुनाव जितेपछि बझाङी जनताको धमेनामा दुई सय १० मेगावाटको विद्युुत् प्राधिकरणले मेघा प्रोजेक्ट बनाउने योजना रहेकोउनले बताए । ८७ मेगावाटको चैनपुरमा बन्ने तयारी छ । यस्तै योजना जिल्लाको बिभिन्न विकासे योजना अघि सार्ने बताए ।रासस