डडेल्धुरा। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बुधबार गृह जिल्ला जाने भएका छन् । देउवा आज डडेल्धुरा पुगेर गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुने तय भएको नेपाली कांग्रेसले जनाएको छ।
कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवा बुधबार बिहान गृह जिल्ला जाने र ११ः३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। उनले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको कांग्रेसले जनाएको छ।
यसअघि कात्तिक १७ गते गृह जिल्ला पुगेका देउवाले त्यहाँ चार दिन बिताएका थिए। सो क्रममा उनले सात पालिकाका सात वटा चुनावीसभालाई सम्बोधन गरेका थिए । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देउवासहित डडेल्धुरामा आठ जना उम्मेदवार रहेका छन् । देउवा विसं २०४८ यताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन्।