धनगढी। कैलाली क्षेत्र नम्बर ४ को प्रदेश सभा क्षेत्र १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भोजराज सापकोटाले गठबन्धनका उम्मेदवारलाई सघाउने भएका छन् । सापकोटाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई सघाउने भएका हुन्।
उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी नेतृत्वको सुझावअनुसार आफ्नो उम्मेदवारी स्थगित गरेर बाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार दीर्घ बहादुर सोडारीलाई समर्थन गरेको जनाएका छन्। प्रतिगमन विरुद्ध देशैभरि बाम लोकतान्त्रिक गठबन्धन भएकोले गठबन्धनलाई सफल बनाउन उम्मेदवारी फिर्ता लिएको सापकोटाले बताए।
क्षेत्र नम्बर ४ मा सङ्घतर्फ आफूले बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका वीर बहादुर बलायरलाई समर्थन गरेको पनि उनले उल्लेख गरेका छन् ।नेकपा माओवादी केन्द्रबाट टिकट नपाएपछि असन्तुष्ट उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । सापकोटा नेकपा माओवादी केन्द्रको गौरीगङ्गा नगर कमिटीका उपाध्यक्ष थिए । गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै उनलाई माओवादीले यसअघि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।