कैलाली। एमालेको चुनावी सभाका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै गर्दा पुनः भीम रावलको ‘माग’ बढेको छ। आइतबार दैलेखमा ओलीले बोलिरहँदा दर्शकदिर्घाबाट रावलको नाम आएपछि ओलीले जवाफ पनि फर्काए। ओली बोलिरहँदा ‘भीम रावल!!!’ भन्ने आवाज आएपछि ओली केही आक्रोशित हुँदै जवाफ दिन्छन्( ‘चुप लागेर बस्नुस्। भीम रावलको माया लागेको भए अछाम त्यहीँ पारिपट्टि छ, जानुस्।’
कात्तिक १८ गते ओलीले कञ्चनपुरको सभामा सम्बोधन गर्दा पनि रावलको माग भएपछि उनले रिसाउँदै जवाफ फर्काएका थिए। केही आक्रोशित जस्तो सुनिएर मञ्चबाट प्रतिवादमा उत्रिएका थिए– ‘भीम रावलको तपाईंलाई किन चिन्ता पर्योरु ०४८ सालदेखि एकछिन् मुख खाली छैन। बुढो भइसक्नुभयो। बेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनुपर्दैन ? एउटै भीम रावल, भीम रावल। केको खेती गरिराख्या? के भीम रावलरु थुप्रो रावलहरू हुनुहुन्छ सुदूरपश्चिममा। थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ।’रावलले टिकट नपाएपछि एमालेको एउटा पंक्ति ओलीप्रति असन्तुष्ट छ। स्वयं रावलले पनि ओलीको आलोचना गर्ने गरेका छन्। यद्यपि, ओलीले यसअघि पनि रावलले ०४८ सालदेखि खाइरहेको बताएका थिए।
रावलले ०५१ को मध्यावधि निर्वाचनबाट संसदीय यात्रा सुरु गरेका थिए। ओली भने ०४८ देखि नै सांसद छन्। उनी ०६४ को संविधान सभा निर्वाचनमा मात्रै पराजित भएका थिए। कञ्चनपुरै सभामा ओली बोलिरहँदा दर्शकदीर्घाबाट ’एमसीसी’ भन्दै उनको लय बिगारिदिएका थिए। यसअघि नेकपा एमालेको अछाम र सुदूरपश्चिम प्रदेश कमिटीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि डाक्टर भीम रावलको नाम सिफारिस गरेको थियो। तर, एमाले पार्टीको केन्द्रले उनलाई टिकट खासेर सुदूरपश्चिम प्रदेशका पूर्व अर्थमन्त्री झपट बोहरालाई दिएर चुनाव लड्न मैदानमा पठाएको थियो ।
अहिले बोहरा चुनावी मैदानमा होमिएका छन्। उनी अहिले अछाम निर्वाचन क्षेत्र नम्बर १ मा जनताको घर दैलोमा पुगेर मत मागिरहेका छन्। तर, नेता रावल भने गृहजिल्ला आएका छैनन्। तर रावलले भने, एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका लागि जिल्ला जाने वातावरण नबनाएको बताउँदै आएका छन्। एमालेका केन्द्रीय सदस्य एवम् अछाम जिल्ला इन्चार्जसमेत रहेका उम्मेदवार बोहराले भने आफूले भीम रावललाई गृहजिल्ला बोलाएको बताएका छन्। उनले भीम रावलसँग आफू सम्पर्कमा रहेको दाबी गरिरहेका छन् । त्यस कारण भीम रावललाई अछाम जान झपट बोहराले आग्रह गरिरहेको बुझिएको छ । यस्तै ओलीले पनि रावललाई गृहजिल्ला जान आग्रह गर्छु भनेर भनेको बोहराले बताएका छन् ।