कञ्चनपुर। कञ्चनपुरमा मतपत्र व्यवस्थापनको काममा कर्मचारी खटिएका छन्। एकातर्फ मतदान केन्द्रअनुसार मतपत्र मिलाउने र अर्कोतर्फ मतपेटिकादेखि छाप, स्ट्याम्प पेड र कपडालगायत सामग्री व्यवस्थापनको काम भइरहेको हो । महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यतिबेला व्यस्त देखिएको छ । जिल्ला निर्वाचन कार्यालयका कर्मचारी निर्वाचन सामग्री व्यवस्थापनमा जुटेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारी मतपत्र व्यवस्थापनमा लागेका छन् । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका लागि मतपत्र पुगेको छ । अहिले केन्द्रअनुसार मतपत्र मिलाईदैछ ।मतपत्र र अन्य निर्वाचन सामग्री पुगिसकेकोले अहिले मिलाउने काम भइरहेको मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार शाहले बताए । उनले हरेक निर्वाचन क्षेत्रमा कुल मतदाताभन्दा बढी मतपत्र आएको बताए । प्रतिनिधिसभामा तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरको क्षेत्र नं. १ मा ९१ हजार ११०, २ मा १ लाख ५ हजार ५७७ र ३ मा ९७ हजार ८२२ मतदाता छन् ।
सबै क्षेत्रमा ५ प्रतिशत बढी मतपत्र आएको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिले मतपत्र व्यवस्थापनसँगै कर्मचारी खटनपटनको काम भइरहेको मुख्य निर्वाचन अधिकृत शाहले भने । जिल्लाभरिमा १३२ मतदान स्थल र ३४६ मतदान केन्द्र छन् । एक मतदान केन्द्रमा ८ जनाका दरले २ हजार ७६८ कर्मचारी छनोट भइसकेको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले बताए । उनका अनुसार शुक्रबारदेखि तीन दिन तालिम सञ्चालन हुनेछ ।
तालिमपश्चात् आवश्यक निर्वाचन सामग्री र मतपत्र दिएर कर्मचारीलाई मतदान स्थलमा पठाइनेछ । जिल्लामा कारागार र भीमदत्त नगरपालिकामा दुई वटा अस्थायी मतदान केन्द्र पनि राखिएको छ । कारागारका कैदी बन्दी र कर्मचारीका लागि ती अस्थायी मतदान केन्द्र राखिएको हो । जिल्लामा संवेदनशील र अति संवेदनशील मतदान स्थलहरू पहिचान गरिए पनि सार्वजनिक गरिएको छैन । निर्वाचन सुरक्षा योजना लागू भइसकेको र त्यहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्यामसिंह चौधरीले बताए ।

