दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं ९ स्थिति गोकुलेश्वर उच्च माध्यामिक विद्यालय, गोकुलेश्वरमा सत्तारुढ गठबन्धनले आमसभा गरको भन्दै निर्वाचन आयोगले दुई मन्त्रीसहित गठबन्धनतर्फका सबै उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
आयोगले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र समेतको दलको आयोजनामा निर्वाचन प्रचारप्रसारको लागि चुनावी सभा आयोजना विद्यालयमा गरिएको भन्दै स्पष्टीकरण सोधेको हो।
निर्वाचन आयोगले नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, प्रदेश सभाअन्तर्गत प्रदेश सभा १ का नेपाली काँग्रेसका उम्मेदवार विक्रमसिंह धामी र प्रदेशसभा २ का नेकपा माओवादी केन्द्रका उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीलाई स्पष्टीकरण सोधेको हो। यस्तै विद्यालयका प्रधानाध्यापक जनञ्जय जोशीलाई पनि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
आयोगले दार्चुलाका निर्वाचन अधिकृतलाई यस घटनाबारे आवश्यक कार्वाही गर्न निर्देशनसमेत दिएको छ भने प्रमुख जिल्ला अधिकारीलाई ४ दिनभित्र यस घटनाको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुनेगरी चुनावी सभा आयोजना गरेको देखिएको भन्दै उम्मेदवार र प्रधानाध्यापकलाई कुनै पनि माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालयमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको हो।