धनगढी : बामलोकतान्त्रिक गठबन्धनबाट कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा १ का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता रमेशसिंह धामीले आफू निर्वाचित भएपछि योजनामा कमिसन खाने प्रवृतिको अन्त्य गर्ने दावी गरेका छन् । धनगढी उपमहानगरपालिका–१८, घुराहामा मंगलबार आयोजित चुनावी कार्यक्रममा उनले सरकारका योजना कार्यान्वयनका क्रममा कमिसन खाने प्रवृति आफूले रोक्ने दावी गरे ।
‘मेरो क्षेत्रमा कार्यान्वयन हुने योजनामा कसैले पनि कमिसन खान पाउने छैन । जति बजेट आउँछ त्यसको पूरै काम हुन्छ ।’ धामीले भने, ‘न कर्मचारीले कमिसन खान पाउँछन् । न कार्यकर्तालाई खान दिइनेछ ।’ यो क्षेत्रमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले आएका योजनामा पनि कमिसन खाएको उनले आरोप लगाए ।
उनले मतदातालाई आकर्षित गर्नका लागि पूरा गर्न नसकिने आश्वासन र सपना आफूले नबाँड्ने दावीसमेत गरे । झुठा आश्वासन नबाँड्ने भन्दै उनले गर्न सकिने काम र योजनालाई मात्र चुनावी प्रतिवद्धताका रुपमा अघि सारेको दावी गरे । ‘अरुको जस्तो झुट बोलेर, भ्रममा पारेर र झुठा आश्वासनका सपना बाँडेर मत माग्दैन । गर्न सकिने योजना र काममात्र अघि सारेको छु ।’ धामीले भने, ‘निर्वाचित भएपछि अहिले बोलेका सबै कुरा विस्तारै पूरा गर्ने प्रतिवद्धता जनाउँछु ।’
सीमित बजेटका कारण मतदाताले अघि सारेका सबै योजना पूरा गर्न नसकिने भन्दै उनले तिनको प्राथमिकता निर्धारण गरेर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । निर्वाचित भएपछि गाउँमा फर्केर नआउने प्रवृति आफूले नदेखाउने उनले दावी गरे । जनप्रतिनिधिका रुपमा कसैलाई काखापाखा नगरी काम गर्ने उनको भनाइ थियो ।
‘पाँच वर्षपछि फेरि भोट माग्न आउनु पर्छ । त्यसबेला पनि अनुहार देखाउने सक्ने गरी र तपाइहरुको मत खेर नजाने गरी काम गर्नेछु ।’ धामीले भने, ‘मेरो निर्वाचन क्षेत्रका १३ वटै वडा विकासका दृष्टिले निकै पछाडि छन् । निर्वाचित भएपछि संघ र प्रदेश सरकारसँग समन्वय गरेर बढी बजेट ल्याउने र विकासका योजनाहरु कार्यान्वयन गर्न पहल गर्नेछु ।’ वडा नम्बर १६ मा सडक, सिँचाइ, तटबन्धको समस्या रहेको उल्लेख गर्दै धामीले ती काम आफूले गर्ने दावी गरे ।
उनले यो क्षेत्रमा प्रदेश र संघ दुवैमा गठबन्धनको जित निश्चित रहेको दावी गरे । संविधानको रक्षाका साथै देशको विकास र समृद्धिका लागि पाँच दलको गठबन्धन बनेको उनको भनाइ थियो । मुलुकमा राजनीतिक व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको उल्लेख गर्दै धामीले शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकासका लागि गठबन्धनलाई मत दिन आग्रह गरे ।
‘हामीले व्यवस्था बदल्यौँ, अवस्था बदल्न बाँकी छ । शिक्षा, स्वास्थ्य रोजगार, पूर्वाधार विकास हुन सकेको छैन । जनतामा निराशा पैदा भयो ।’ धामीले भने, ‘संविधान बचाउन र देशको विकास गर्न गठबन्धन बनेको हो । त्यसैले विकासका लागि गठबन्धनलाई मत दिन आग्रह गर्छु ।’