धनगढी। डडेल्धुरामा चुनावी सभाहरुमा सहभागी भएर धनगढी आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवा यहाँ कार्यकर्ता भेटघाटमा व्यस्त छन्। कार्तिक १७ गते गृहजिल्ला डडेल्धुरा गएका देउवा हिजो बेलुकी धनगढी फर्किएका हन्।
धनगढीस्थित आफ्नै निजि निवासमा बसिरहेका प्रधानमन्त्री देउवाले जिल्लाभरिकै केही नेता, कार्यकर्तालाई बोलाएर आज भेटघाट र छलफल गरिरहेका हुन् । गृहजिल्ला गएका देउवाले चुनावी सभाहरूलाई सम्बोधन गर्दै मत मागेका थिए। उम्मेदवारी चयनको विषयमा असन्तुष्ट कतिपय नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरुलाई निवासमै बोलाएर प्रधानमन्त्रीले छलफल गरिरहेका नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए । अगुवा नेता, कार्यकर्तासँग प्रधानमन्त्री देउवाले यहाँको चुनावी अवस्थाका विषयमा जानकारी लिइरहेका छन् ।
सचिव सुनारका अनुसार कैलाली क्षेत्र नम्बर ३ को प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता गोविन्दराज जोशीलाई पनि प्रधानमन्त्रीले भेटेका छन् । ‘नेता, कार्यकर्तालाई भेटेर निर्वाचनमा शसक्तरुपमा खट्न निर्देशन दिनुका साथै जिल्लाभरिकै चुनावी अवस्थालाई प्रधानमन्त्रीले चाँसो लिइरहनु भएको छ ।’ सचिव सुनारले भने, ‘चुनावमै केन्द्रित रहेर प्रधानमन्त्रीज्यू कार्यकर्ता छलफलमा व्यस्त हुनुहुन्छ ।’
धनगढी उपमहानगरपालिका पर्ने क्षेत्र नम्बर ५ मा काँग्रेसबाट डिल्लीराज पन्त र ५ को प्रदेश सभा २ बाट प्रदेश सभा सदस्यमा प्रधानमन्त्री देउवाका भतिजा प्रकाश देउवा उम्मेदवार छन् । क्षेत्र नम्बर ५ मा काँग्रेसका पूर्वनेता पुष्करनाथ ओझाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । २०७० सालमा भएको उपनिर्वाचनमा तत्कालीन क्षेत्र नम्बर रहेको यहाँ काँग्रेसबाट ओझा विजयी भएका थिए ।
२०७४ को चुनावमा यहीँ क्षेत्रबाट उम्मेदवार बनेकी प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई असहयोग गरेको अभियोगमा उनलाई काँग्रेसले साधारण सदस्यबाट समेत निस्कासन गरेको थियो । काँग्रेसकै कतिपय नेता, कार्यकर्ता ओझाको पक्षमा लागेकाले यहाँ गठबन्धनको जितमा चुनौती रहेको आँकलन गर्न थालिएपछि प्रधानमन्त्री देउवाले यहाँका असन्तुष्ट नेता, कार्यकर्तालाई मनाउने कोशिश गरिरहेका हुन् ।
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री अबका दुई दिन धनगढीमै रहने जानकारी दिए । धनगढीमा रहँदा प्रधानमन्त्रीले चुनावी सभालाई सम्बोधन गर्ने औपचारिक कार्यक्रम भने नरहेको स्वकीय सचिव देउवाले बताए । उनका अनुसार प्रधानमन्त्री देउवा बुधबार दार्चुला र बैतडीमा हुने गठबन्धनका चुनावी सभालाई सम्बोधन गर्न यहीँबाट जानेछन् ।
‘प्रधानमन्त्री आज र भोलि धनगढीमै बस्नुहुन्छ । पर्सि यहीँबाट दार्चुला र बैतडी जाने कार्यक्रम छ ।’ स्वकीय सचिव देउवाले नयाँ पत्रिकासँग भने, ‘धनगढीमा बस्दा कार्यकर्ता भेटघाटबाहेक औपचारिक कार्यक्रम छैन ।’दार्चुला र बैतडीमा हुने गठबन्धनका संयुक्त चुनावी सभालाई प्रधानमन्त्रीसहित माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।प्रधानमन्त्री देउवा आइतबार बेलुकी धनगढी पुगेका हुन् ।