डडेल्धुरा। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृहजिल्ला डडेलधुरामा ३२ किलोको माला लगाइएको छ। जोगबुढामा आयोजित चुनावी सभामा आइतबार देउवालाई ३२ किलोको माला लगाएको हो।
डडेल्धुराको भित्री मधेस क्षेत्र जोगबुढामा आयोजित चुनावी सभामा नेपाली कांग्रेस र सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रको परशुराम नगर समितिले आइतबार देउवालाई ३२ किलोको माला लगाएको हो। भित्री मधेस क्षेत्रका विभिन्न समस्या र सरोकार समेटिएका ३२ वटा मागसहितको ज्ञापनपत्र बुझाउँदै देउवालाई ३२ किलोको मालाले सम्मान गरिएको गठबन्धनको दल नेकपा माओवादी केन्द्रका परशुराम नगर समितिले जनाएको छ।
एक नेताका अनुसार प्रधानमन्त्री देउवासहितका नेतालाई ‘गठबन्धनको माला’ले पनि बाँधिएको छ।गठबन्धनबीच एकता छ भन्ने सन्देश दिन सयपत्री फूलको एउटै मालाले प्रधानमन्त्री देउवासहित नेताहरुलाई बाँधिएको माओवादी केन्द्रका ती नेताको भनाइ छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसार सुरु भएदेखि नै प्रधानमन्त्री देउवा गृहजिल्ला डडेलधुरामा छन्। गृहजिल्लामा चुनावी अभियानमा ब्यस्त रहेका देउवा आइतबार जिल्लाको भित्री मधेस क्षेत्रमा आयोजित चुनावी कार्यक्रममा सहभागी भएका छन्।यस्तै गत १७ गते गृह जिल्ला गएका देउवा आज धनगढी फर्कने कार्यक्रम छ।