अछाम। आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै दलका उम्मेदवारहरु चुनावमा होमीएका छन् । बिशेष गरी सत्ता गठबन्धन र एमाले लगायत दलका उम्मेदवारहरु चुनावी अभियान तिब्र बनाइरहेका छन्। अछाम–२ प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट नेपाल कांग्रेसका पुष्प शाह र नेकपा एमालेका यज्ञबहादुर बोगटीबीच प्रतिस्पर्धा हुने भएको छ।
दोस्रो पटक शाह र बोगटी चुनावी प्रतिस्पर्धामा होमीएका हुन् । यस्तै सो क्षेत्रमा राप्रपाका मीनबहादुर शाही र नेमकिपाका झंकरबहादुर शाही पनि मैदानमा छन् । कांग्रेसका जिल्ला उपसभापति चन्द्रप्रसाद ढुंगानाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। तर कांग्रेस जिल्ला सभापति शाह र एमाले केन्द्रीय सदस्य बोगटीबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । उमेरका हिसाबले समकालीन शाह र बोगटी पहाडी जिल्ला अछाममा घरदैलोका क्रममा उकाली–ओराली गर्न व्यस्त देखिन्छन्।उनीहरूको राजनीतिक दौड पनि उस्तै छ । शाह २०३६ सालमा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ ९नेविसंघ०बाट राजनीतिमा जोडिएका थिए । नेपाल ल क्याम्पस र कञ्चनपुरबाट नेविसंघको राजनीतिमा सक्रिय भए ।
२०४० सालमा काठमाडौँबाट अछाम फर्किएपछि वकालत पेसा थाले । सोही समयमा शाह जिल्ला बार इकाईको दुई कार्यकाल अध्यक्ष बने । २०४९ सालबाट शाह कांग्रेसको जिल्ला कार्यसमिति सदस्य भएर बनेर औपचारिक रूपमा पार्टी राजनीतिमा प्रवेश गरेका थिए। जिल्ला कार्य समिति सदस्यमा निर्वाचित भएपछि पार्टीले उनलाई कोषाध्यक्ष बनाएको थियो । २०५३ मा पार्टीको महाधिवेशन प्रतिनिधि र २०५४ मा जिल्ला सचिव भएर काम गरेका उनले त्यसयता निरन्तर महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित बने । २०६७ सालमा भएको कांग्रेसको बाह्रौँ महाधिवेशनका क्रममा उनी कांग्रेस अछामको सभापति निर्वाचित भए । ०७८ मा भएको चौधौं महाधिवेशनका क्रममा शाह पुनः सभापतिमा निर्वाचित भए ।
यता बोगटीले पनि अछाम बहुमुखी क्याम्पसमा एमालेका भ्रातृसंस्था अनेरास्ववियुबाटै राजनीति सुरु गरेका थिए । उनी २०४९ मा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य भएका उनी अनेरास्ववियुमा जिल्ला संयोजक, राष्ट्रिय परिषद् सदस्य र केन्द्रीय कमिटी सदस्य भए । त्यसपछि उनी पार्टीको जिल्ला कमिटीको सदस्य भए भने २०६५ बाट २०७४ सम्म उनी जिल्ला कमिटी सचिव बने । संसदीय राजनीतिमा ०७४ मा निर्वाचनमा पहिलो प्रयासमै सफल भए । हाल उनी एमाले केन्द्रीय कमिटी सदस्य रहेका छन् । ०७४ को निर्वाचनमा यज्ञबहादुर बोगटीले अछाम–२ मा बाजी मारेको थिए । वाम गठबन्धनका साथमा बोगटीले कांग्रेसका पुष्पबहादुर शाहलाई पराजित गरेका थिए । बोगटीले २१ हजार ९६५ मत पाउँदा शाहले १९ हजार १०६ मत पाएका थिए । कांग्रेसले १८ हजार आठ सय, एमालेले १७ हजार र माओवादी केन्द्रले आठ हजार दुई सय मत ल्याएका थिए । माओवादीको साथमा बोगटीले २ हजार ८५९ मतान्तरले बाजी मारेका थिए ।
के छ कांग्रेसका शाह र एमालेको बोगटीको अवस्था
चुनाव जितेका एमालेका बोगटी अहिले एक्लै तालेमल गरेर चुनावी मैदानमा छन् । तर ०७४ को चुनावी सहयात्री माओवादी केन्द्र कांग्रेसको साथमा छ भने एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले पनि कांग्रेसलाई सहयोग गरेको अवस्था छ । कम्युनिस्टकै साथमा उनी २३ वर्षपछि कम्युनिस्टकै किल्ला बनेका अछाम २ मा कांग्रेसको झण्डा गाड्न तम्सिएका छन् । तर एमालेका बोगटी अछाम–२ मा एमालेलाई जितमा ह्याट्रिक दिलाउने रणनीतिमा छन् । अछाम–१ मा भीम रावलले टिकट नपाएपछि एमालेमा देखिएको असन्तुष्टि पनि बोगटीका लागि अर्को चुनौती हो ।
कांग्रेसका बागी उम्मेदवारले राहतको महसुस गरेको एमालेका लागि गठबन्धन र भीम रावल फ्याक्टर चुनौतीको पहाड बन्ने देखिन्छ । अछाममा भीम रावल विरोधी खेमाको नेतृत्व गरेका बोगटीलाई रावल समर्थकको साथ बिना चुनाव जित्न असम्भवजस्तै छ । भीम रावलको छत्रछायाँमा राजनीति गरेका बोगटी पछिल्लो समय विपक्ष कित्ताको नेतृत्व गर्न पुगेका छन् । रावललाई टिकट दिन नहुने अभियानमा बोगटीले पनि भूमिका खेलेको एमाले अछाममा चर्चा छ । ‘एमालेलाई भीम रावल चाहिँदैन भने हामीलाई एमाले पनि चाहिँदैन’ भन्ने अछाममा रावल समर्थकको स्वर सुनिन्छ ।
अछाम–२ मा गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतअनुसार कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले १९ हजार ३३९, एमालेले १७ हजार ९८७, माओवादीको ६ हजार ४४१ र एकीकृत समाजवादीको २ हजार १७५ मत छ । जसका आधारमा कांग्रेसका शाह बोगटीभन्दा ९ हजार ९९६८ मतले अघि देखिन्छन् । वडा अध्यक्ष भने कांग्रेसको भन्दा एमालेले बढी जितेको छ। ४९ वडामध्ये एमालेले २२ कांग्रेसले २१, माओवादी केन्द्रले २ र एकीकृत समाजवादीले ३ वडा र स्वतन्त्रले एक वडामा जितेका छन् । जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा प्रमुख र उपप्रमुखसहित १० वडा एमालेले जितेको छ भने कांग्रेसले ४ वडा जितेको छ । माओवादीको मतले कांग्रेसले फराकिलो लिड गर्न मद्दत पुग्ने देखिन्छ । यस पटक चुनाव जित्नेमा शाह पनि विश्वस्त देखिन्छन् । उनले भने, ‘गठबन्धनका साथीहरू चुनावी रणनीति बलियो बनाएर अगाडि बढिरहेका छौँ ।
यसपालि सफल हुन्छु ।’ तर गठबन्धनले चुनावी नजितामा आफूलाई अप्ठ्यारो नपार्ने बोगटीको विश्वास छ । ‘जनतासँग गठबन्धन भएको मलाई आभास भएको छैन । टाउकेहरुको बीचबाट गठबन्धन भएको हो,’ उनी भन्छन्, ‘जनता गठबन्धन भन्दा पनि विकास, समृद्धि, न्याय, सुशासनका पक्षमा रहेको मलाई आभास भएको छ । त्यसैले यो गठबन्धनले हामीलाई अप्ठ्यारो पर्छ कि भन्ने लागेको छैन ।’ आफूले सांसदका रूपमा पहल गरेर अछाम–२ भएका विकासकै कारण सहज चुनाव जित्ने उनको दाबी छ । बोगटीले सडक, खानेपानी, बिजुली, कृषि र रोजगारीलाई एजेन्डाका रूपमा सुनाए । यता शाहले गठबन्धनले समग्र अछामको विकास निर्माण, सुखी र शान्तिको विषयलाई मुख्य एजेण्डाका रूपमा अगाडि सारेको छ । सेती लोकमार्ग र मध्यपहाडी राजमार्ग, जंगलघाट–मंगलसेन बाटो, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ कृषि सबै कुरालाई जोड दिएको शाहले बताएका छन् ।