सुदूरपश्चिम। सुदूरपश्चिमसहित चार प्रदेशको मतपत्र ढुवानी सम्पन्न भएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चार प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भएको हो । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका लागि मतपत्र ढुवानी सकिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार बिहीबार मनाङ र मुस्ताङका लागि हेलिकोप्टरमार्फत मतपत्र ढुवानी गरिएसँगै चार प्रदेशको मतपत्र ढुवानी सकिएको हो । शुक्रबारदेखि प्रत्यक्षतर्फ प्रदेश नम्बर–१ को मतपत्र ढुवानी सुरु गरिनेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी भइसकेको छ। योपटक एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । जसका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी करिब आठ करोड मतपत्र आवश्यक पर्नेछ। त्यसमध्ये अब २५ लाख ९४ हजार मतपत्र मात्र छपाइ हुन बाँकी छ। शुक्रबारसम्म सबै मतपत्र छपाइ सकिनेछ । यही कात्तिक २५ गतेसम्ममा प्रत्येक निर्वाचन अधिकृतको कार्यलयमा मतपत्र पुग्ने आयोगले जनाएको छ।