कैलाली। कैलालीमा आलुको दानाभित्र लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । कैलालीको टिकापुर नगरपालिका ९ स्थित नेपाल-भारत सिमानाका खक्रौलाबाट २३ ग्राम ४१० मिलिग्राम लागुऔषध (खैरो हिरोईन)लुकाएर ल्याउँदै गरेको अवस्थामा एक जना पक्राउ परेको कैलाली प्रहरीले बताएको छ।
आज दिउँसो सवा ३ बजे टिकापुर नगरपालिका १ का २५ बर्षीय सुरज चौधरीलाई लागुऔषध (खैरो हिरोईन)सहित पक्राउ गरीएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। प्रहरीका अनुसार चौधरीलाई भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा जाँच गर्दा साईकलमा आलुको बोरा भित्र आलुको दुई वटा दाना काटी बिच भागमा लुकाई छिपाई गरी राखेको अवस्थामा लागु औषध भेटिएको हो। लागु औषधसहित चौधरीलाई पक्राउ गरी प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भईरहेको जनाइएको छ।


