कैलाली। आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको माहोल तातेको छ । उम्मेद्वारहरू मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् । तिहार सकिएसँगै चुनाव प्रचारप्रसार बढाएका राजनीतिक दलहरूलाई जनता फकाउन निकै सकस छ। तर, कैलालीका मतदाताहरूले झुटा आश्वासन नमान्ने अडान लिएका छन् ।
प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि यति बेला उम्मेद्वारहरू घरदैलोमा व्यस्त छन् । उम्मेद्वारहरू घरदैलोमा पुगिरहँदा जनतामा आशा भन्दापनि आशंका र आक्रोश बढी देखिन्छ । उम्मेद्वारहरू निर्वाचनका बेला घरदैलोमा पुगेर आश्वासन दिने तर, चुनावपछि फर्केर नहेर्ने प्रवृतिले जनतामा फेरि पनि झुठै आश्वासन हो कि भन्ने आशंका बढी छ । कैलालीका मतदाताहरू यसपाली झुटा आश्वासनले मत दिने पक्षमा छैनन् । उनीहरू यस पटकको निर्वाचनमा हरेक मतदाताको पीडा बुझ्ने र विकास गर्ने उम्मेद्वारलाई मत दिने पक्षमा छन् ।
सबै नेतालाई भागबण्डा मिलाउनकै लागि धेरै ठाउँमा स्थानीय भन्दा पहुँचवाला नेताले टिकट पाएपछि मतदातामा झन् निराशा बढेको छ । जनताका मर्म बुझ्ने नेताभन्दा पनि पहुँचका भरमा दलहरूले उम्मेद्वार छानेपछि मतदातामा निर्वाचनको उल्लास देखिएको छैन। नेताका लागि नभई जनताका लागि काम गर्ने उम्मेद्वार रोज्ने पक्षमा उनीहरू छन् । जनतालाई ठूलाठूला आश्वासन दिने तर, ती आश्वासन अर्को निर्वाचनसम्म पनि पुरा नहुँदा नेताहरूप्रति मतदाता रूष्ट भएका हुन् । बेरोजगारी, गरिबी कायमै रहेको यो क्षेत्रमा शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आवश्यकता समेत पूरा नगरेको भन्दै अब स्पष्ट रुपले विकासका एजेण्डा लिएर आउने र त्यसलाई पुरा गर्ने उम्मेद्वारलाई मात्रै मत दिने मतदाताहरूको योजना छ ।
धनगढी २ का शिवराज जोशीले अहिलेसम्मका निर्वाचित सांसदले यो क्षेत्रमा कुनैपनी काम नगरेको बताए । उनले भने, जनताहरुको सबैको गुनासो छकि पार्टिगत भन्दा काम गर्ने र स्वतन्त्रलाई भोट दिने भन्ने बिचार रहेको छ । ३०/३५ बर्ष देखी कुनै बिकास निर्माणमा चाँसो नदेखाएको र भ्रस्टाचारको जरा गाडिसकेको हुनाले आगामी दिनमा यीनीहरुलाई बर्खास्त गरी काम गर्नेलाई मत दिने भन्ने सोच रहेको छ, उनले भने । पुराना उम्मेदवारले जितेपछि बजारमा नाक मुख नै देखाउँदैनन् । हाम्रो क्षेत्रमा के गर्ने कसो गर्ने, के समस्या छ भन्ने साँसद अहिलेसम्म देखेको छैन् म बिगत ३० बर्ष देखी धनगढीमै बस्छु उनले भने । यनीहरुले जित्नेसम्म हातखुट्टा जोड्छन् । त्यसपछि जितेपछि नमस्कार पनी फर्काउँदैनन्। आगामी चुनावमा यस्ता नेतालाई पाखा लगाई काम गर्नेलाई जिताउने उदेश्य छ उनले भने । यस्तै धनगढी चौराहाका कपडा ब्यवसायी देव नारायण गौतमले २०७४ सालको चुनावमा दिएको मतदानको खिल्ली उडाएको बताए।
जनताको कुरा सुनेनन्, आफ्नो निहीत स्वार्थ र पार्टिको स्वार्थका लागी काम गरेपनी देश र जनताका लागी कहिल्यै काम गरेनन्,जनताको हित विपरित गएर काम गरे, उनले भने । पहिलो देश रहे हामी रहन्छौँ भन्ने भावनाका साथ काम गरेनन् नेताले । उनले भने, अबको चुनावमा हाम्रोलाई हैन राम्रोलाई जिताउन म भन्न चाहान्छु । गद्धारहरुलाई पाखा लगाउँ । उनले भने यस्तो महङ्गी छ । बैङ्कको लोन तिुर्न पर्नेछ । उनले भने अब निर्वाचित हुने नेताले यस्तो गल्ती नगरुन भन्ने भनाई छ उनले भने । काम नगर्नेलाई विकल्प खोजेर ल्याउँ र पार्टिको झोले कार्यकर्ता भएर हिड्न सकिदैन्, पार्टिलाई भन्दा राम्रो ब्यक्ती जनताको न्युनतम आश्यकता देखी बिकास गर्नेलाई जिताउँ भन्न चाहान्छु उनले भने । निर्वाचनमा जाँदा मतदातालाई ठूला आश्वासन दिने तर, आश्वासन अनुसारका काम नहुँदा नेताहरूप्रति जनताको वितृष्णा बढ्दै गएको हो । त्यसकारण उम्मेद्वारहरूले गर्न सक्ने विकासका एजेण्डा मात्रै लिएर जनतालाई दिएको आश्वासन पुरा गर्ने कुरामा जोड दिनुपर्छ ।