धनगढी। धनगढीमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१२ बस्ने २१ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका–११ ओलानीका २२ वर्षीय युवक पक्राउ परेको कैलाली प्रहरीले बताएको छ ।
शनिबार दिएको जाहेरीमा ती युवतीले आरोपित युवकले करिब ५ महिनाअघि जेठ २० गते कैलालीको खानीडाँडामा बलात्कार गरेको आरोप लगाएकी बताइएको छ। युवतीको फुपूको घर ओलानीमा रहेको र त्यहीँ आउजाउ गर्ने क्रममा ती युवकसँग परिचय भएको, पछि विभिन्न प्रलोभन देखाई खानिडाँडा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको मालाखेती प्रहरीले जनाएको हो।
आरोपित युवकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको र घटनाबारे थप बुझी सोमबार मुद्दा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।