कैलाली। सत्ता गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रतिनिधिसभामा देशभरबाट १९ जना उम्मेदवार थिए । तीमध्ये रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सो पार्टीबाट प्रतिनिधिसभातर्फ १८ जना मात्रै चुनावी मैदानमा उत्रिएका हुन्।
एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका १८ जना नै ‘ग्रीन जोन’मा रहेको स्थानीय तह निर्वाचनमा सम्बन्धित निर्वाचन क्षेत्र अन्तर्गतका वडामा वडाध्यक्ष पदका उम्मेदवारले हासिल गरेको मत परिणामले देखाउँछ । नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिएका अधिकांश निर्वाचन क्षेत्रमा सो पार्टी तेस्रो वा चौथो दलको रुपमा रहे पनि सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादीसहित गठबन्धनमा रहेका लोसपा र राजमोसहितको समर्थनमा उसका उम्मेदवार ‘ग्रीन जोन’मा देखिएका हुन्।
एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेशमा ३ जना उम्मेदवार छन्। प्रदेश १ मा प्रतिनिधिसभामा २ जना, मधेस प्रदेशमा २ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ३ जना र कर्णाली प्रदेश ३ जना उम्मेदवार छन्। अछाम–१ बाट एकीकृत समाजवादीका शेरबहादुर कुँवरले उम्मेदवारी दिएका छन्। यस क्षेत्रबाट पटक पटक निर्वाचित एमाले नेता भीम रावलले टिकट नपाएपछि कुँवरलाई राहत मिलेको छ । एमालेबाट झपटबहादुर बोहरा उम्मेदवार छन्।
यस क्षेत्र अन्तर्गत रामारोशन गाउँपालिका, बन्नीगढी जयगढ गाउँपालिका, चौरपाटी गाउँपालिका, साँफेबगर नगरपालिका, मल्लेख गाउँपालिका पर्छन् । ती पालिका अन्तर्गत वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा यहाँ कांग्रेसको १६ हजार ७२८, एमालेको १६ हजार ५६७, माओवादीको ६ हजार ७९० र नेकपा एकीकृत समाजवादीको २ हजार ७५२ मत छ । यस आधारमा यहाँ सत्तारुढ गठबन्धन नै भारी हुने देखिन्छ। बझाङबाट एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन्।
जोशीका प्रतिस्पर्धीका रुपमा एमालेका ऐनबहादुर महर उम्मेदवार छन् । बझाङ जिल्लामा १२ स्थानीय तह छन्। ती स्थानीय तह अन्तर्गत वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा एमालेको २८ हजार ६११, कांग्रेसको २० हजार १६६, माओवादीको ९ हजार १४५ र नेकपा एकीकृत समाजवादीको ७ हजार ६३२ मत छ । यहाँ गठबन्धनबाट उम्मेदवार बनेका जोशीका विरुद्ध गठबन्धनमै आवद्ध दल कांग्रेसका हर्कजंग बहादुर सिंहले बागी उम्मेदवारी दिएका छन् । सिंहले कांग्रेसको केही मत काट्ने आकलन गरिएको छ। यद्यपि यहाँ गठबन्धनको फराकिलो अग्रता देखिएकाले सिंहको उम्मेदवारीले पनि खासै असर नगर्ने गठबन्धनका नेताहरुको आकलन छ ।
यस्तै डोटीबाट एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेले उम्मेदवारी दिएका छन्। आले २०७४ सालमा पनि निर्वाचित भएका थिए । आलेलाई टक्कर दिन एमालेले गौरीकुमारी ओलीलाई उम्मेदवार बनाएको छ । डोटी जिल्ला अन्तर्गत ९ पालिका छन् । ती पालिका अन्तर्गत वडा अध्यक्षको मतका आधारमा यहाँ कांग्रेसको ३४ हजार ४७ मत छ । यस्तै, एमालेको २४ हजार ९१६, माओवादीको ७ हजार ७८९, नेकपा एकीकृत समाजवादीको ३ हजार २०५ र राप्रपाको ९८७ मत देखिन्छ ।