प्रतिनिधिसभा र प्रदेशसभा सदस्य २०७४ मा कम्युनिस्ट पार्टी एक ठाउँमा उभिएर अछामका दुईवटै निर्वाचन क्षेत्र जितेकोमा यसपटकको नतिजा फरक हुने अनुमान छ । वाम एकताको नारा लिएर जनतामाझ गएका कम्युनिस्ट पार्टीहरूले २०७४ को निर्वाचनमा अछामका दुइटै क्षेत्र जितेका थिए ।
अहिले तिनै कम्युनिस्ट पार्टीमध्ये एमाले एकातिर र कांग्र्रेस, माओवादी केन्द्र तथा एमालेबाट अलग्एिर बनेको एकीकृत समाजवादी अर्कातिर छन् । एमालेले राप्रपालगायतसँग गठबन्धन गरे पनि अछाममा त्यसको प्रभाव परेको छैन । एमाले एक्लै चुनावी मैदानमा छ ।
अछाम २ का ४९ वडामध्ये हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले २१, माओवादी केन्द्रले २ र एकीकृत समाजवादीले ३ वडा जितेका छन् । जस अनुसार सत्ता गठबन्धनले २६ र एमालेले २२ वडा जितेको छ । एक वडामा स्वतन्त्रले जितेका थिए ।
स्थानीय तहको निर्वाचनमा १४ वडा रहेको मंगलसेन नगरपालिकामा प्रमुख र उपप्रमुखसहित १० वडा एमालेले जितेको थियो । कांग्रेसले ४ वडा जितेको छ । पञ्चदेवल विनायकमा कांग्रेसले ६ वडा, एमालले १ , माओवादी केन्द्रले १ र समाजवादीले एक वडा जितेका छन् । त्यस्तै कमलबजार नगरपालिकाका १० वडामध्ये प्रमुखसहित कांग्रेसले २, उपप्रमुखसहित एमालेले ७ र स्वतन्त्रबाट १ वडामा जितेका थिए । ढकारी गाउँपालिकाका ८ वडामा अध्यक्ष र उपाध्यक्षसहित कांग्रेसले ४, एमालले २ , समाजवादीले २ वडा जितेका छन् ।
तुर्माखाँद गाउँपालिकाका ८ वडामध्ये अध्यक्ष र उपाध्यक्षसहित एमालेले २ वडा कांग्रेसले ५ वडा र माओवादी केन्द्रले १ वडा जितेका छन् । प्रतिनिधि सभा २०७४को निर्वाचनमा सयुक्त वाम गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार यज्ञ बहादुर बोगटीले कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाहभन्दा २ हजार ८ सय ५९ मतले विजयी भएका थिए । यो पटक पनि यिनै उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । ५ स्थानीय तह रहेको क्षेत्र नम्बर २ मा हालै सम्पन्न भएको स्थानीय तहका प्रमुख रअध्यक्षले पाएको मतलाई हेर्दा सत्ता गठबन्धन करिब ९ हजार मतले यो क्षेत्रमा अगाडी देखिन्छ । मंगलसेन नगरपालिकामा कांग्रेसका उम्मेदवारले ५ हजार २ , कमलबजार नगरपालिकामा ४ हजार २ सय ८८ , पञ्चदेवल विनायक नगरपालिकामा ३ हजार ६ सय ५३ , ढकारी गाउँपालिकाको अध्यक्षमा ३ हजार १ सय ८१, तुर्माखाँद गाउपालिकाको अध्यक्ष पदमा ३ हजार ४ सय ९३ मत नेपाली कांग्रेसलाई प्राप्त भएको भएको थियो ।
क्षेत्र नम्बर २ का यी ५ स्थानीय तहको अध्यक्ष र प्रमुख पदमा कांग्रेसले १९ हजार ५ सय ५७ पाएको मत पाएको छ । त्यस्तै एमालेले यही निर्वाचन क्षेत्र नम्बर २ को मंगलसेन नगपालिकामा प्रमुख पदमा ५ हजार ७ सय ३७, कमलबजार नगरपालिकामा ४ हजार ६५ , पञ्चदेवल विनायक नगरपालिकामा २ हजार ६ सय ९७ , ढकारी गाउँपालिकाको अध्यक्ष पदमा २ हजार ५ सय ५५ र तुर्माखाँद गाउँपालिकामा ३ हजार ५ सय २३ गरी एमालेलाई १८ हजार ५ सय १७ मत प्राप्त भएको थियो ।
अछाममा तेस्रो दलको रुपमा रहेको माओवादी केन्द्रले पञ्चदेवल विनायक नगरपालिकामा प्रमुख पदमा र तुर्माखाँद गाउँपालिकाको अध्यक्ष पदमा मात्रै उम्मेदवार उठाएको थियो । पञ्चदेवल नगरपालिकामा ३ हजार १ सय ७२ र तुर्माखाँद गाउँपालिकामा ३ हजार ९१ गरी माओवादी केन्द्रलाई निर्वाचन क्षेत्र नम्बर २ मा ६ हजार २ सय ६३ मत प्राप्त भएको थियो ।
एमालेबाट अलग्एिर बनेको एकीकृत समाजवादीले पनि आफ्नो उपस्थितीलाई बलियो बनाउँदै लगेको छ । ५ स्थानीय तहमध्ये समाजवादीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ३ तहमा मात्रै उम्मेदवार उठायो भने मंगलसेन नगरपालिकामा कांग्रेसलाई समर्थन गरेको थियो । जसमा ढकारी गाउँपालिकाको अध्यक्ष पदमा समाजवादीका उम्मेदवारलाई १ हजार ५ सय ९०, पञ्चदेवल नगरपालिकाको प्रमुख पदमा ६ सय ९२ र तुर्मखाँद गाउँपालिकाको अध्यक्ष पदमा ९ मत प्राप्त गरेको थियो । यी तीन स्थानीय तहको प्रमुख पदमा समाजवादीलाई जम्मा २ हजार २ सय ९१ मत प्राप्त भएको थियो ।