कञ्चनपुर। कञ्चनपुरको कृष्णपुरमा सामुदायिक वनका अध्यक्षको केराबारीमा अवैध काठ भेटिएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका २ खल्ला टोलस्थीत एक सामुदायिक वनका अध्यक्षको केराबारीमा अवैध काठ भेटिएको हो। सव डिभिजन वन कार्यालय बाणीले गडबजिबला सामुदायिक वनका अध्यक्ष धनीराम चौधरीको केराबारीमा अवैध सालको काठ भेटिएको जनाएको छ।
लुकाएर राखेको काठ वन कार्यालयको टोलीले बरामद गरेपछि अध्यक्ष चौधरी र उनका भाई रामबहादुर चौधरी समेत फरार भएका छन्। उनीहरुले संयुक्त रुपमा सञ्चालन गरेको केराबारीमा सालका गोलिया लुकाइएको अवस्थामा भेटिएका थिए। ५९दशमलव ८८ क्यूफिटसालको काठ बरामद गरिएको सब डिभिजन वन कार्यालय बाणीका निमित्त प्रमुख मायाकुमारी चौधरीले बताइन्। गोप्य सूचनाको आधारमा केराबारीमा लुकाएको काठ बरामद गरेका र, त्यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताइन्। उनीहरुले वनबाट काठ चिरान गरी अवैध कारोबारका लागि केराबारीमा लुकाएको आशंका गरिएको जनाइएको छ।


