धनगढी। सुदूरपश्चिममा मंसिर ४ गतेको निर्वाचन नजिकिएसंगै मुख्यमन्त्री को बन्ने बारेमा चर्चा र चाँसो बढ्न थालेको छ। बिभिन्न राजनितीक दलबाट प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएकाहरुबाट अब मुख्यमन्त्री को बन्लान् र सम्भावित मुख्यमन्त्रीका उम्मेदवारको चुनावी क्षेत्रको अवस्था कस्तो छ भनेर चर्चा बहस हुन थालेको हो।
जसकारण पनी प्रतिनिधिसभा उम्मेदवारसँगसँगै यसपटक सर्वसाधारणको चासो प्रदेशसभा निर्वाचनमा बढी रहेको पाइएको छ । मुख्यमन्त्रीका निर्वाचनमा हुने हारजितको जोड घटाउ, कस्ताकस्ता उम्मेदवार निर्वाचित हुने, आकांक्षीहरूको चुनावी अवस्था बारेमा चाँसो बढेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६ वटा निर्वाचन क्षेत्र र ३२ वटा प्रदेशशभा क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा कांग्रेसबाट सम्भावित मुख्यमन्त्रीका उम्मेदवारमध्ये रणबहादुर रावल, गोविन्द बोहरा र बहादुर थापा देखिएका छन् । रावल कैलाली क्षेत्र नं १ (१) बाट उम्मेदवार बनेका छन् । उनले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी र एमालेका द्वारिका न्यौपानेसँग प्रतिस्पर्धा गरिरहेका छन् ।
एमालेभन्दा पनि उन्मुक्ति पार्टीको दवदवा रहेको उक्त क्षेत्रमा प्रतिनिधिसभामा टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ उम्मेदवार छन् । थारू बाहुल्य क्षेत्र र टीकापुर घटनाको तुष अझै नमेटिएका कारणथारू मतदाता सहज रूपमा ध्र्रुवीकरण हुन सक्ने सम्भावनाका बीच कांग्रेसका रावललाई जितका लागि चुनौती छ । कांग्रेसले स्थानीय तहमा टीकापुर नगरपालिकाका ९ वडामध्ये जम्मा ३ वटा जितेको हो । जसमा पनि बढी मतदात रहेका वडामा उन्मुक्ति पार्टीले जितेको छ भने सबैभन्दा बढी मतदाता भएको बजार क्षेत्रमा एमालले निर्वाचन जितेको हो ।
रावलपछि कांग्रेसबाट मुख्यमन्त्रीका अर्का बलिया दाबेदार डडेलधुर प्रदेश २ बाट उम्मेदवार बनेका गोविन्द बोहरा हुन् । रावलभन्दा उनका लागि जित हात पार्न अलि सहज देखिएको छ । डडेलधुरबाट प्रतिनिधिसभामा प्रधानमन्त्री देउवा उम्मेदवार छन् । जसको प्रत्यक्ष लाभ बोहरालाई हुन्छ भने अर्कोतिर एकीकृत समाजवादीका तारा जोशी स्वतन्त्र उम्मेदवार भएपछि चुनावी समीकरण पूरै परिवर्तन हुने सम्भावना देखिएको छ । जोशी यसअघि कांग्रेसका कर्ण मल्लसँग २ सय मतले पराजित भएका हुन् । यो क्षेत्रमा एमालेबाट पूर्व जिविस सभापति गजेन्द्र शाही उम्मेदवार छन् । उनको गृह क्षेत्र डडेलधुरा १ (१) भए पनि उनी यस क्षेत्रबाट उम्मेदवार बनेका हुन् । त्यसको प्रत्यक्ष फाइदा पनि बोहरालाई नै हुने देखिन्छ । स्वतन्त्र उम्मेदवार जोशी र प्रधानमन्त्री देउवाको एउटै गाउँपालिका हो ।
स्थानीय तह निर्वाचनमा यस क्षेत्रका ४ वटै पालिका कांग्रेसले जितेको छ । गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिकामा बहुमतसहित कांग्रेसले जितेको छ । अजयमेरु गाउँपालिका अध्यक्षबाहेक बहुमत कांग्रेस विजय भएको छ । अध्यक्ष पनि गठबन्धनकै माओवादी केन्द्रले निर्वाचन जितेको हो । तुलनात्मक रूपमा रावलभन्दा बोहरा सुरक्षित स्थितिमा छन् । कञ्चनपुर २ (२) बाट उम्मेदवार बनेका मुख्यमन्त्रीका अर्का सम्भावित उम्मेदवार बहादुर थापा कांग्रेसका पुराना नेता हुन् । पार्टी र स्थानीय तहको निर्वाचनमा देखिएको अन्तरविरोध चिर्न सके भने थापाका लागि जित सहज हुन सक्छ । तर यस पटकको टिकट वितरणले उनको क्षेत्रमा थप समस्या सिर्जना गरेको छ । कांग्रेस कञ्चनपुरका निर्वतमान सभापति हरि बोहरा, कांग्रेसका पुराना नेता बलदेव बोहरालगायत यस क्षेत्रका प्रभावशाली कांग्रेस नेताहरूको पार्टी निर्वाचनमा भएको पराजय र टिकट वितरणमा देखिएको असन्तुष्टिले उनलाइ समस्या पार्न सक्ने देखिएको छ । एमालेबाट यो क्षेत्रमा संविधानसभा सदस्य रहेका कृपाराम राना उम्मेदवार छन् । यस क्षेत्रमा थारू मतदाताको संख्या पनि उल्लेख्य छ ।
माओवादी केन्द्रबाट घोषित रूपमै मुख्यमन्त्रीका दाबेदार देखिएका प्रदेश इन्चार्ज खगराज भट्ट डडेलधुरा प्रदेश (२) बाट उम्मेदवार छन् । उनीसँग एमाले सम्भावित मुख्यमन्त्रीका उम्मेदवार पठानसिंह बोहराले प्रतिस्पर्धा गरिरहेका छन् । यस क्षेत्रका ३ स्थानीय तहमध्ये दुईमा कांग्रेस र एकमा माओवादीले चुनाव जितेको छ । एमालेले तीनवटै स्थानीय तहमा दुई वडा पनि जित्न सकेको छैन । एमालेबाट उम्मेदवार भएका बोहराको संघमा सिफारिस भएको थियो, पछि उनलाई प्रदेशमा झारियो । अघिल्लो चुनावमा उनले कांग्रेसका रघुवर भट्टलाई थोरै मतले पराजित गरेका थिए । तर यसपटक भने उनका लागि चुनाव जित्न सहज देखिँदैन ।
जिल्लाको सबैभन्दा बढी मतदाता रहेको भित्री मधेस पनि यसै क्षेत्रमा छ जहाँ माओवादीको बलियो संगठन छ । चुनावपछि पनि गठबन्धन कायम रहे पहिलो चरणमा खगराज भट्ट मुख्यमन्त्री बन्ने आन्तरिक सहमति प्रधानमन्त्री देउवासँग भएको पनि चर्चा छ । यसअघिका तीनवटा निर्वाचनमा भट्ट देउवासँग प्रतिस्पर्धी हुँदै आएका थिए । ०७४ को निर्वाचनमा उनी देउवासँग ७ हजार मतान्तरले पराजित भएका थिए । माओवादी संगठन यो क्षेत्रमा बलियो हुनु, प्रधानमन्त्री देउवा पनि उम्मेदवार हुनु, एमाले सांगठनिक रूपमा कमजोर अवस्थामा हुनु र स्थानीय तह निर्वाचनमा यस क्षेत्रका पालिकामा एमालले दुई वडा मात्र जित्नु र गठबन्धनका कारण माओवादी उम्मेदवार भट्टका लागि जित्न सहज छ ।
एमालेबाट सम्भावित मुख्यमन्त्रीका अर्का उम्मेदवार हुन् डोटी २ (२) बाट चक्र मल्ल । उनी संघका निर्वाचन लड्न आकांक्षी थिए तर संघमा गौरी वलीले टिकट पाएपछि उनको व्यवस्थापन प्रदेशमा भएको हो । उनीसँग कांग्रेसका डोटी जिल्ला सभापति नरेन्द्र सिंह उम्मेदवार छन् । जातीय रूपमा खड्काहरूको बाहुल्य रहेको यो क्षेत्रमा कांग्रेसबाट यसअघि चुनाव जितेका भरत खड्काले जसलाई सहयोग गरे उसले निर्वाचन जित्ने अनुमान गरिएको छ । टिकट नपाएका कारण खड्काले चक्र मल्ललाई सहयोग गरे भने उनी सहज रूपमा चुनाव जित्न सक्ने अनुमान गर्न सकिन्छ तर कांग्रेस नेताहरू भने त्यसो नहुने बताउँछन् । स्वयं भरत खड्का पनि पार्टीको लाइनभन्दा बाहिर गएर कुनै गतिविधि नगर्ने बताउँछन् । गठबन्धनका संघमा उम्मेदवार रहेका प्रेम आलेको पनि यो क्षेत्रमा राम्रो प्रभाव छ ।