अछाम। नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावललाई टिकट नदिएपछि अछाम–१ राष्ट्रिय मिडियामा चर्चाको विषय बनेको छ। एमालेको १० औँ महाधिवेशनमा पार्टी अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका रावल उम्मेदवार बन्न वञ्चित भएपछि अछाम–१ चर्चामा छ।
एमाले अछामले क्षेत्र नम्बर १ मा उम्मेदवारीका लागि रावलको नाम एकल सिफारिस गरेको थियो । जिल्लाबाट निर्विकल्प सिफारिस भएका रावललाई पन्छाएर अध्यक्ष ओलीले झपट बोहरालाई टिकट थमाए। यसले एमाले अछाममा विद्रोह निम्त्याएको छ। अछाम– १ का एमाले संयोजकसहित रावल निकट करिब ४० जना एमाले नेता–कार्यकर्ताले पार्टीबाट सामूहिक राजीनामा दिए । अछाममा उम्मेदवारी मनोनयनका क्रममा रावल समर्थकले एमाले उम्मेदवार बोहरालाई कालोझण्डा देखाउँदै पार्टी अध्यक्ष ओलीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
तर एमाले अछामले नेताहरूको सामूहिक राजीनामालाई बहुमतले अस्वीकृत गरेको छ । राजीनामा दिएका नेताहरू कात्तिक ४ गतेबाट चुनावी अभियानमा सहभागी हुने एमालेका क्षेत्रीय संयोजक प्रकाश शाहले बताए । अछाम– १ का एमाले संयोजक शाहले भने, ‘भीम रावलजस्तो राष्ट्रवादी नेताले टिकट नपाएपछि सामूहिक राजीनामा दिएका थियौँ। तर जिल्ला कमिटीको बहुमतले हाम्रो राजीनामा अस्वीकृत गरेको छ । अब कात्तिक ४ बाट अभियानमा लाग्छौँ ।’तर बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी भीम रावलले एमालेका सबै उम्मेदवारलाई मत माग्न नसकिने बताएका छन्। एमालेले विगतमा एमालेको उछित्तो काढ्ने, विदेशीको चाटुकार, चाकडी र चाप्लुसी गर्नेहरूलाई पनि समर्थन गरेको भन्दै रावलले उनीहरूका लागि मत माग्न नसक्ने बताए । रावलले देशभक्त, मार्क्सवादसँग प्रतिबद्ध र एमालेका लागि रगत पसिना बगाउने उम्मेदवारलाई मात्र सहयोग गर्ने बताए ।
‘जसको विरुद्धमा एमाले कार्यकर्ताले रगत बगाउनुपर्यो, तिनका लागि मत माग्न सक्दिनँ,’ उनले भने । तर अछाम– १ का उम्मेदवार बोहरालाई मत माग्ने वा नमाग्ने भनेर रावलले कुनै निर्देशन भने नदिएको संयोजक शाहले बताए । यता रावल अछामको अभिभावक भएको भन्दै एमालेलाई जिताउन सहयोग गर्नेमा बोहरा विश्वस्त छन् । ‘डाक्टर भीम रावल हाम्रो नेतामात्र होइन, अभिभावक पनि हुनुहुन्छ । उहाँको अभिभावकीय भूमिका हुन्छ भन्ने मलाई लाग्छ,’ उनी भन्छन्, ‘अछाममा एमाले जिताउन उहाँले जस्तोसुकै स्थितिमा पनि सहयोग गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।’
दुवै पक्षमा विद्रोहबाट बाजी मार्ने दाउ- अछाम– १ मा एमालेलाई मात्र नभई सत्ता गठबन्धनलाई पनि चुनौतीको पहाड बन्ने देखिन्छ । एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर गठबन्धनको साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन् । श्रममन्त्री कुँवरलाई कांग्रेस र माओवादीको दरिलो साथ छ । उनको सारथिका रूपमा प्रदेशसभा (क) मा कांग्रेसका सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्का र (ख) मा माओवादीका नेता दीपक साउद उम्मेदवार छन् । यद्यपि प्रतिनिधिसभातर्फ गठबन्धनविरुद्ध कांग्रेसका युवा नेता राजन कुँवरको बागी उम्मेदवारी परेको छ ।
जिल्ला अधिवेशनमा कांग्रेस अछामका सभापतिका प्रत्याशी राजनले मन्त्री कुँवरविरुद्ध उम्मेदवारी दर्ता गराएका छन् । मन्त्री कुँवरका अनुसार गठबन्धनले राजनलाई उम्मेदवारी निष्क्रिय बनाउन दबाब दिइरहेको छ । उनले भने, ‘एउटै दलभित्र एउटा पदका लागि १० औँ प्रतिस्पर्धी हुन्छन् भने तीन दलको बीचमा तीन जनाका दरले ९ जना हुन्थे । ९ जनामा ८ जनाले चित्त बुझाउनु भयो । एक जनाले चित्त नबुझाउनु स्वाभाविक रूपमा लिन्छु । तर उसलाई पनि सम्झाउने प्रयास जारी छ । दलहरू लागिरहेका छन् ।’
उम्मेदवारी निष्क्रिय बनाउने/नबनाउने विषयमा आन्तरिक परामर्श भइरहेको राजनको भनाइ छ । तर उनको उम्मेदवारी निष्क्रिय भएन भने पनि दलका अगाडि व्यक्तिको केही नलाग्ने मन्त्री कुँवरको भनाइ छ । ‘दलीय व्यवस्थामा व्यक्ति होइन दल प्रधान हुन्छ । दलको निर्णय र ह्वीपलाई सबैले स्वीकार गर्नुहुन्छ,’ उनी भन्छन् । एमालेभित्रको विद्रोह र स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धन दोब्बर मतले अघि हुँदा राजनको उम्मेदवारीप्रति मन्त्री कुँवर खासै गम्भीर छैनन् । कांग्रेसबाट राजनीति गर्ने कुँवर समुदायका नेताबाट मन्त्री शेरबहादुर कुँवरलाई जिताउन राजनको उम्मेदवारी निष्क्रिय बनाउन लबिङ भइरहेको छ । अछाम– १ को राजनीतिमा शेरबहादुर कुँवरलाई जातीय फ्याक्टरले पनि साथ दिँदै आएको देखिन्छ । कुँवरको बाहुल्य रहेका कारण उनलाई यो फ्याक्टर पनि ‘प्लस प्वाइन्ट’ का रूपमा देखिन्छ । मन्त्री कुँवरले भने, ‘म चुनाव जित्नेमा ढुक्क छु । अछामी जनताले मलाई माया गर्नु हुन्छ ।’ आफू अहिले आयात गरिएको कार्यकर्ता नभएको भन्दै उनले अछामका हरेक घरमा पुगेको दाबी गरे । उनले भने, ‘मलाई कांग्रेस, माओवादी, एमालेले पनि चिन्छन् । अछामको कुनै पनि घर मेरालागि बिरानो छैनन् ।’ सत्ता गठबन्धनबाट आफ्नो उम्मेदवारीले अछाम १ मा उत्साह जागेको मन्त्री कुँवर बताउँछन् । ‘०६४ मा पनि यस्तै थियो । मैले जितेको हुँ,’ उनले भने । एमाले देशभर ३३ वटा सिटमा खुम्चिँदा पनि त्यतिबेला अछाम– १ मा कुँवरलाई जित निकाल्न कठिन भएन ।
यस पटक सुदूरपश्चिम प्रदेशका १६ सिटमध्ये एकीकृत समाजवादीले अछाम– १, डोटी र बझाङमा उम्मेदवारी दिएको छ । उनी भन्छन्, ‘अहिले गठबन्धनका हामी सबै जना जित्ने निश्चित छ । हामी ढुक्क छौँ।’ एमालेका उम्मेदवार बोहरा भने गठबन्धनमा आबद्ध दलहरू प्राविधिक रूपमा मात्र एक भएको तर मतदाताले त्यसरी मत नदिने दाबी गर्दछन् । ‘उम्मेदवारका सन्दर्भमा एउटा पार्टी नै व्यवस्थापन गर्न अप्ठ्यारो भइरहेका बेला गठबन्धनमा मत ट्रान्सफर हुन जटिल देखिन्छ,’ उनले भने, ‘गठबन्धन हुँदैमा हामी डराउनुपर्ने कारण छैन ।’
विगतमा एमाले नेतृत्वको सरकारले जनप्रिय र लोकप्रिय काम गरेकाले आफूहरू चुनाव जित्नेमा ढुक्क रहेको उनको भनाइ छ । एमालेको राष्ट्रवादी अडान र जनपक्षीय एजेण्डा नै आफूहरूको जितको आधार भएको उनले बताए । आफू सुदूरपश्चिम प्रदेशको अर्थमन्त्री हुँदा गरेको विकासले पनि एमालेलाई मत प्राप्त हुने बोहरा बताउँछन् । अर्कोतिर राजनको स्वतन्त्र उम्मेदवारी अन्तिमसम्म रहे एमालेलाई चुनाव जित्न थप सहज हुने एमाले नेताहरूको बुझाइ छ । यद्यपि रावल पक्षले मन्त्री शेरबहादुर कुँवर वा स्वतन्त्र उम्मेदवार राजनमध्ये एक जनालाई सघाउने चर्चा पनि अछाममा व्यापक छ । एमालेमा हुँदा रावलका विश्वास पात्र थिए शेरबहादुर कुँवर । तर एमाले विभाजन हुँदा कुँवरले रावलको साथ छोडे । उनी एकीकृत समाजवादीतिर लाग्दा १० बुँदे सहमति गरेर रावल एमालेमै बसे । पुरानो सम्बन्धका कारण शेरबहादुरप्रति रावलको सद्भाव रहने कतिपयको बुझाइ छ । एमालेका असन्तुष्ट र गठबन्धनमा विद्रोह गरेका राजन मिल्न सक्ने सम्भावनाको पनि चर्चा छ । रावल निकट संयोजक शाह भने त्यस्तो सम्भावना नरहेको बताउँछन् । उनले भने, ‘हिजो भीम रावलले विश्वास गरेका मान्छे शेरबहादुर कुँवर नै हो । तर पछिल्लो समयमा विद्रोह गरेर उहाँ अर्कोतिर जानुभयो । उहाँलाई सहयोग गर्नेबारे हामीलाई थाहा छैन । चर्चा त राजन कुँवरजीलाई सहयोग गर्ने भन्ने पनि छ । त्यस्तो नहोला । यो बजार हल्लामात्र हो कि !लोकेन्द्र भट्ट/रातोपाटि