धनगढी। नेपाली कांग्रेस कैलालीका सभापति नारायण दत्त भट्टले पाँच दलिय गठबन्धन दलभित्र सम्मानजनक व्यवहार आवश्यक हुनुपर्ने बताएका छन । शुक्रबार धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति भट्टले गठबन्धन दलभित्र सो कुरा आवश्यक रहेको बताएका हुन् ।
उनले गठबन्धनदलमा ठुलो या सानो दल नभनी सम्मानजनक रुपमा अघि बढ्नुपर्ने र पार्टीका पदाधिकारी, भातृ संगठन, शुभेच्छुक संघ/संस्थाले पनि दलिय गठबन्धनमा भएका सबै दलको सम्मान गर्नुपर्ने बताए । नैतिकता र धर्मका आधारमा भएपनि गठबन्धनलाई विश्वास गर्दै सबै अघि बढ्न आवश्यक रहेको उनको भनाई छ ।
निर्वाचनमा सहि र योग्य उम्मेदवारलाई निर्वाचित गराउन सञ्चारमाध्यमको महत्व भुमिका हुने गरेको बताए । उनले भने –‘६० प्रतिशत मतदाता सञ्चारमाध्यमबाटै प्रभावित हुने गरेका छन । त्यसैले सहि, योग्य उम्मेदवारका पक्षमा सञ्चारमाध्यमले कलम चलाउन जरुरी रहेको उनको भनाई छ । यस्तै गठबन्धनलाई संस्थागत गर्न आवश्यक रहेको नेपाली काँग्रेसका केन्द्रिय सदस्य नृपबहादुर वडको भनाई छ। उनले दलबिचको गठबन्धनको अभ्यास नेपालमा मात्र नभई अन्य मुलुकमा पनि भएको बताए । भारतमा लामो समयदेखि गठबन्धनबाटै सरकार बनेका र ती टिकेको दावी समेत गरे ।
उनले गठबन्धन दलभित्र रहेका उम्मेदवारलाई निवार्चित गराउन पार्टीपंक्ति, शुभेच्छुक संस्था, भातृ संगठन सबैको साथ आवश्यक रहेको बताए । उनले उम्मेदवारले कहिले काँही भुलेर बोलेका भाषणलाई बढी प्राथमिकता दिने गरेको बताए । उनले भने ‘गल्तीबस बोलेका कुरालाई बढी प्रचार गराईन्छ । यस्ता कुरामा सञ्चारमाध्यमले पनि सचेत हुनुपर्ने बताए । यस्तै, गठबन्धनका उम्मेदवारलाई सहयोग पुर्याउने गरि प्रतिनिधि र प्रदेश सभाको निर्वाचन क्षेत्रमा गठबन्धन सञ्चारमाध्यमको मिडिया सेन्टर गठन गर्ने निर्णय भएको छ ।
प्रतिनिधि सभाको पाँच वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका १० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारका गतिविधि, उम्मेदवारका राम्रा पक्ष लगायतका बारेमा सूचना संकलन गर्न मिडिया सेन्टर गठन गरिएको हो । सो मिडिया सेन्टरमा नेपाल प्रेस युनियनका प्रतिनिधि संयोजक, प्रेस सेन्टरका उपसंयोजक र समाजवादी प्रेसका सचिव रहने व्यवस्था गरिएको छ ।