दार्चुला। जिल्ला अस्पतालका चिकित्सकमाथि दुर्व्यवहार गर्ने एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो मदिरा सेवन गरी अस्पताल पसेका महाकाली नगरपालिका–५ का ३० वर्षीय प्रेमसिंह धामीले चिकित्सकमाथि दुर्व्यवहार गर्दा नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जिल्ला अस्पतालमा कार्यरत डा।जफर अन्सारीमाथि दुर्व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेशबहादुर शाहीले बताए । ती युवक मदिरा सेवन गरी दिउँसो अस्पताल पसेको हुनाले डाक्टर अन्सारीले मदिरा सेवन गरेर अस्पतालमा नआउन आग्रह गर्दा दुर्व्यवहार गरेको बताइएको छ । चिकित्सकमाथि दुर्व्यवहार गर्ने धामीलाई नियन्त्रण लिई घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।