काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले पार्टीका कमिटीबाट एकल सिफारिसमा परे पनि आफूलाई उमेदवारीको टिकट नदिइनु स्वेच्छाचारी भएको बताएका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफू अछाम क्षेत्र नम्बर–१ बाट एकल सिफारिसमा परे पनि पार्टीमा योगदान नै नगरेको व्यक्तिलाई उमेदवार बनाइएको आरोप लगाए ।“
मेरो उमेदवारीबारे कुनै छलफल नै नगरी अध्यक्षले एमालेका निम्ति एक योगदान नै नभएका व्यक्तिलाई टिकट दिइयो । प्रथम दृष्टिमा नै स्वेच्छारी र अन्यायपूर्ण छ,” उनले भने । आफूलाई हराउन नसक्ने जानकारी पाएपछि अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएको आरोप समेत उनले लगाए ।उनले भने, ‘भदौ १९ गते अछाम १ बाट मेरो उम्मेदवारी सर्वसम्मत भएको थियो। भदौ २२ गते सुदूरपश्चिम प्रदेश कमिटीले पनि एकल सिफारिस गरेको थियो।
तर, अध्यक्ष ओलीसहितले पार्टीको विधि र सिद्धान्त अवज्ञा गरेका छन्। मसँग कुनै परामर्श नगरी पार्टीभित्र कुनै योगदान नगरेको व्यक्तिलाई उम्मेदवार बनाएर अछामको जनतालाई अन्याय भएको छ।’ओलीको निर्णय स्वेच्छाचारी, अन्यायपूर्ण र गलत भएको दाबी गरे। ओलीको निर्णयले जनता र पार्टी संगठनको घोर अपमान भएको उनको भनाइ छ।उनले आफूले निर्वाचन नलड्ने भनेर सुनियोजित रूपमै प्रचार गरेको आरोप लगाए। पार्टीका नेताहरूसँग आफूले चुनाव लड्ने तयार गरिरहेको समेत बताए।ओलीसँग माफी मागेपछि टिकट पाइन्छ भन्नु हास्यास्पद भएको उनको भनाइ छ। पार्टीको काममा लागिरहेको बेलामा आफूलाई पार्टीको सम्पर्कमा नभएको भनेर प्रचार गरेको समेत गुनासो गरे।पूर्णपाठ हेर्नुहोस् https://drive.google.com/file/d/1tl9amSZjAnuaKxM3X93yEQbxRcyDk2Dh/view