अछाम। प्रतिनिधिसभा अन्तर्गत दुई निर्वाचन क्षेत्र रहेको अछाममा सत्तारुढ गठबन्धन र एमालेबीच नै आसन्न निर्वाचनमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अछाम क्षेत्र नम्बर १ मा ६ र क्षेत्र नम्बर २ मा ५ उम्मेदवार छन् । क्षेत्र नम्बर १ मा एमालेले झपटबहादुर बोहोरालाई उम्मेदवार बनाएको छ ।
भीम रावललाई मौका नदिएको एमालेलाई यो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट संघीय मन्त्री शेरबहादुर कुँवरले चुनौती दिँदैछन्। उनी नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका हुन् । यो क्षेत्रमा हाम्रो नेपाली पार्टीबाट तेजप्रसाद शर्मा उम्मेदवार छन् । यहाँ राजन कुँवर, महेन्द्रबहादुर बोगटी र हिक्मत कुँवर स्वतन्त्र उम्मेदवार छन् ।यस्तै क्षेत्र नम्बर २ मा एमालेले यज्ञबहादुर बोगटीलाई उम्मेदवार बनाएको छ। यहाँ सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका पुष्पबहादुर शाह उम्मेदवार छन् ।
यस क्षेत्रमा राप्रपाले मीनबहादुर शाही र नेमकिपाले झंकरबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा चन्द्रप्रसाद ढुंगानाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेकपा एमालेमा प्रभावशाली मानिएका भीम रावललाई थन्क्याएर एमालेले क्षेत्र नम्बर १ मा बोहरा र २ मा बोगटीलाई उम्मेदवार बनाएको छ। अछाममा प्रभावशाली मानिएका रावलबिना यो निर्वाचनमा एमालेलाई गठबन्धनको सामना गर्न निकै चुनौती हुने जानकारहरु बताउँछन् । यता आफ्नो टिकट खोसिएपनि भीम रावल हालसम्म सार्वजनिक रुपमा त्यसबारे बोलेका छैनन।
रावलले बिहीबार काठमाडौंमा पत्रकारसम्मेलन गर्दै आफ्ना सन्दर्भमा उठेका अनेक सवालको जवाफ दिने बताएका छन् । झपट बोहराले रावल आफ्नो अभिभावक र नेता पनि भएकाले सहयोग हुनेमा ढुक्क रहेको बताएका छन्।‘उहाँले असहयोग गर्नुभएको छैन । बेलाबेलामा उहाँसँग मेरो कुराकानी पनि भइरहन्छ,’ बोहराले भने, ‘उहाँ मेरो अभिभावक, नेता हुनुहुन्छ । अभिभावक र नेताले अन्यथा गर्ने वा पार्टी निर्णय विपरित जाने कुरा म कहिलेपनि चिताउँदिन । आफ्नो पार्टीको उम्मेदवारलाई जिताउँनका लागि भीम रावल प्रतिबद्ध भएर लाग्नुहुन्छ। उनको साथ पाउनेमा म विश्वस्त रहेको उनले बताएका छन् ।